
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न खेलमा बागमती प्रदेश विजयी भएको छ । बागमती प्रदेशले जनकपुरमा सम्पन्न आफ्नो पाँचौँ खेलमा कर्णाली प्रदेशलाई ६० रनले हराएको हो ।
जितसँगै बागमती प्रदेश चार अंकसहित तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । बागमतीले हालसम्म दुई जित र तीन हारको नतिजा निकालेको छ । पाँच खेलबाट तीन अंक जोडेको कर्णाली प्रदेश भने तालिकाको आठौँ स्थानमा छ ।
बुधबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने २५.१ ओभरमै अलआउट हुनुअघि एक सय २० रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको बागमती प्रदेशका लागि विवेक मगरले अर्धशतकीय योगदान गरे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनले ५६ रन बनाए । यसक्रममा उनले ८० बलको सामना गरी चार छक्का र दुई चौका हिर्काए ।
शिवम तिवारीले १८, शुभ कंसाकारले २०, पवन थापाले २२ र ईशान पाण्डेले २७ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमती प्रदेशले अतिरिक्त रुपमा ३१ रन पायो ।
कर्णाली प्रदेशका बलर दिवान पुनले तीन विकेट लिए । उनले आठ ओभरमा दुई मेडन राख्दै २८ रन खर्चिए । निश्चल रावल, दीपेन्द्र रावत र प्रकाश जैसीले पनि दुई/दुई विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको कर्णाली प्रदेशलाई लक्ष्यसम्म पुग्न नदिन बागमती प्रदेशका बलर सन्दीप लामिछाने एक्लैले सात विकेट लिए । टोलीको कप्तानसमेत रहेका प्रभावशाली लेग–स्पिनर सन्दीपले ९.१ ओभरमा एक मेडन राख्दै ४० रन खर्चिए ।
रिजन ढकाल, प्रतिस जिसी र सुवास खत्रीले पनि एक–एक विकेट हात पारे । कर्णाली प्रदेशका लागि निश्चल रावलले सर्वाधिक ३१ रन बनाए । सन्दीप लामिछाने म्यान अफ दि म्याच घोषित भए ।