२७ जेठ २०८३, बुधबार

आईपीएलमा आज : पहिलो उपाधिको खोजीमा रहेका दिल्ली र लखनउबीच भिडन्त

चैत १८, २०८२
काठमाडौं
आईपीएलमा आज : पहिलो उपाधिको खोजीमा रहेका दिल्ली र लखनउबीच भिडन्त

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच भिडन्त हुँदैछ । लखनउ र दिल्लीबीचको लखनउस्थित इकाना क्रिकेट स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे शुरू हुनेछ ।

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो पाँचौँ खेल हो । यी दुवै टोलीले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैनन् । सन् २०२२ देखि आईपीएल खेल्न थालेको लखनउले अघिल्लो सिजन गतिलो प्रदर्शन गर्न सकेको थिएन ।

अघिल्लो सिजन लखनउ तालिकाको सातौँ स्थानमा थियो । दिल्ली क्यापिटल्स भने अघिल्लो सिजनको आईपीएलमा पाँचौँ भएको थियो ।

हेड टु हेडमा दिल्ली अगाडि

दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच आईपीएलमा हालसम्म सात खेल खेलिएको छ । त्यसमा दिल्ली केही बलियो देखिन्छ । यी दुई टोलीबीचको भिडन्तमा ५७ प्रतिशत खेल दिल्लीले जितेको छ ।

हालसम्म दिल्ली र लखनउले आपसमा सात खेल खेलेका छन् । त्यसमध्ये चार खेलमा दिल्लीले लखनउलाई हराएको छ । बाँकी तीन खेलमा भने लखनउले दिल्लीलाई पराजित गरेको छ ।

सन् २०२५ को आईपीएलमा पनि यी दुई टोलीबीच दुई खेल खेलिएको थियो । दुवै खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई हराएको थियो ।

लखनउको इकाना स्टेडियममा भने हालसम्म यी दुई टोलीबीच तीन खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा दिल्ली र एक खेलमा लखनउ विजयी भएका छन् ।

डकेटले नाम फिर्ता लिए, मिचेल स्टार्क पनि छैनन्

दिल्ली क्यापिटल्सबाट खेल्ने तय भएका इङ्ल्यान्डका खेलाडी बेन डकेटले प्रतियोगिताबाटै आफ्नो नाम फिर्ता लिएका छन् । दिल्लीले पनि यो समाचारको पुष्टि गरेको छ ।

यस्तो स्थितिमा करुण नायर वा पाथुम निसानकाले केएल राहुलसँग मिलेर टोलीको ओपनिङ गर्ने सम्भावना छ । बायाँहाते तीव्र गतिका बलर मिचेल स्टार्क पनि अघिल्ला केही खेलमा देखिने छैनन् । दिल्ली क्यापिटल्सका अनुसार, स्टार्क अप्रिलको दोस्रो सातापछि मात्र टोलीसँग जोडिने छन् ।

दिल्लीको सन्तुलित टोली, मिलरको उपस्थितिले उत्साही

यो सिजन दिल्ली क्यापिटल्सको टोली निकै सन्तुलित देखिएको छ । माथिल्लो क्रममा केएल राहुल छन् । राहुलसँगै करण नायर, ट्रिस्टन स्टब्स र डेभिड मिलरबाट पनि यो सिजन दिल्लीले निकै आशा गरेको छ ।

मिलरको उपस्थितिले दिल्लीको मध्य क्रमलाई बलियो बनाएको छ । फिनिसरको भूमिकामा समीर रिजवी र आशुतोष शर्मा रहेका छन् । अलराउन्डरको भूमिकामा भने अक्षर पटेल र विपराज निगम रहेका छन् ।

पन्तसँगै मार्श र मारक्रममाथि लखनउको आश

यो सिजन लखनउ सुपर जायन्ट्सको माथिल्लो क्रम निकै बलियो देखिएको छ । मिचेल मार्श र एडेन मारक्रमबाट यो सिजन लखनउले उत्कृष्ट प्रदर्शनको आशा गरेको छ ।

निकोलस पुरन पनि जुनसुकै बेला खेलको नतिजा उल्टाउन सक्ने क्षमता भएका खेलाडी हुन् । लखनउका लागि कप्तान ऋषभ पन्तको प्रदर्शनले पनि ठुलो अर्थ राख्ने पक्का छ ।

यो सिजन लखनउको मध्यक्रम भने केही कमजोर देखिन्छ । मोहम्मद शमी, आवेश खान, एनरिक नोर्त्या, मयंक यादव र मोहसिन खानका रुपमा लखनउसँग प्रभावशाली तीव्र गतिका बलर छन् । स्पिन बलिङको जिम्मेवारी भने दिग्वेश राठीको काँधमा हुनेछ ।

परिस्थिति अनुसार चरित्र बदल्ने पिच

लखनउस्थित इकाना स्टेडियमको पिचले परिस्थिति अनुसार फरक चरित्र देखाउने गरेको छ । यो पिचमा कहिले निकै ठूलो स्कोर बन्ने गरेको छ भने कहिले निकै कम ।

यो पिचमा शीतले पनि असर पार्ने देखिन्छ । रात छिप्पिदै जाँदा खेलको दोस्रा पालीमा शीतले बलरलाई समस्यामा पार्ने गरेको छ । त्यसको फाइदा ब्याट्सम्यानले उठाउने गरेका छन् ।

यस्तो स्थितिमा टसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । टस जित्ने टोलीले पहिले बलिङ गर्ने सम्भावना बढी देखिन्छ ।

यो स्टेडियममा हालसम्म आईपीएलको २२ खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले नौ र जवाफी ब्याटिङ गर्ने टोलीले १२ खेल जितेका छन् । एक खेल अनिर्णित रुपमा सकिएको छ ।

सफा रहने छ मौसम

लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच खेल हुने दिन बुधबार लखनउको मौसम सफा रहने छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, वर्षाको केवल एक प्रतिशत सम्भावना देखिन्छ । तापक्रम २३ देखि ३८ डिग्री सेल्सियसको बीचमा रहने छ ।

सम्भावित टोली

दिल्ली क्यापिटल्स : केएल राहुल (विकेटकिपर), करुण नायर वा पाथुम निसानका, नितीश राणा, ट्रिस्टन स्टब्स, अक्षर पटेल (कप्तान), डेभिड मिलर, आशुतोष शर्मा, विपराज निगम, लुङ्गी एनगिडी, कुलदीप यादव, अकिब नबी र थंगारसु नटराजन ।

लखनउ सुपर जायन्ट्स : मिचेल मार्श, एडेन मारक्रम, निकोलस पुरन, ऋषभ पन्त (विकेटकिपर तथा कप्तान), आयुष बडोनी, अब्दुल समाद, शाहबाज अहमद, वानिन्दु हसरंगा, दिग्वेश राठी, मोहम्मद शमी, मोहसिन खान र मयंक यादव ।

salt training

कमेन्ट गर्नुहोस्