
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको कार्यालय समय र बिदाको तालिकामा हेरफेर गरेको छ। मन्त्रिपरिषद्को निर्णयसँगै अब बैंकहरू पनि साताको ५ दिन मात्र खुल्ने भएका हुन्।
राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार सोमबारदेखि लागू हुने गरी बैंकहरूमा प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिइनेछ। यसअघि शनिबार मात्र सार्वजनिक बिदा हुने गरेकोमा अब सातामा दुई दिन बैंक बन्द रहनेछन्।
सोमबारदेखि शुक्रबारसम्मको कार्यालय समय बिहान ९:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म कायम गरिएको छ। यद्यपि, जाडो महिनामा भने कार्यालय समय बिहान ९:०० देखि अपराह्न ४:०० बजेसम्म मात्र हुनेछ।
सर्वसाधारणका लागि बैंकिङ कारोबार हुने समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म तोकिएको छ। हिउँदको समयमा (कात्तिक १६ देखि माघ १५ सम्म) भने बैंकिङ कारोबार बिहान ९:०० देखि दिउँसो ३:०० बजेसम्म मात्र हुने राष्ट्र बैंकले जनाएको छ।
सरकारले सातामा दुई दिन बिदा दिने नीति लिएसँगै राष्ट्र बैंकले पनि सोही अनुरूप आफ्नो कार्यतालिका परिमार्जन गरेको हो।