
नवलपरासीपूर्वको गैँडाकोटमा आइतबारदेखि शुरू भएको राष्ट्रिय पर्यटन काव्य उत्सव–२०८२ सोमबार सम्पन्न भएको छ ।
स्थानीय पर्यटन, संस्कृति र पहिचानबारे सशक्त सन्देश प्रवाह गर्दै नारायणी नदीमा सञ्चालित राइनो क्रुज (पानीजहाज)मा गैंडाकोट नगरपालिका र गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा उत्सव गरिएकोक हो ।
कार्यक्रमका सहभागीले आइतबार साँझ र सोमबार बिहान नारायणी नदीको पानीमाथि कविता वाचन गरेका थिए ।
गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले स्थानीय कला, साहित्य, संगीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु संस्थाको मूल लक्ष्य रहेको स्पष्ट पारे ।
‘हामीले यिनै विषयलाई केन्द्रमा राखेर स्थानीयदेखि राष्ट्रिय तहसम्म कार्यक्रम गर्दै आएका छौं’, उनले भने, ‘संस्कृति जोगाउनु नै पहिचान जोगाउनु हो ।’
उद्घाटन सत्रमा नगरप्रमुख मदनभक्त अधिकारीले पनि यस अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । ‘प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा हामीले धेरै काम गरिसकेका छौं’, उनले भने, ‘बहुभाषिक र बहुसांस्कृतिक समाज रहेको हाम्रो नगरमा संरक्षण र प्रवर्द्धनका काम अझ सशक्त रूपमा अघि बढाइनेछ ।’
उपप्रमुख शान्ति कोइरालाले नारायणी नदीमा गरिएको कार्यक्रमलाई नयाँ अभ्यासको रूपमा व्याख्या गर्दै यसले उच्च तहसम्म ध्यानाकर्षण गराउने विश्वास व्यक्त गरिन् ।
‘गैँडाकोटले नौलो शुरूआत गरेको छ, यसले संरक्षणको मुद्दालाई माथिल्लो सरकारसम्म पुर्याउनेछ’, उनको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले साहित्य र पर्यटनलाई जोड्ने यो प्रयासले नवलपुर (नवलपरासीपूर्व)को पहिचानलाई थप उचाइ दिने धारणा राखे । ‘जलविहारसँग जोडिएको यस्तो साहित्यिक कार्यक्रमले पर्यटन प्रवर्द्धनमा ठोस योगदान पुर्याउँछ’, उनले भने ।
इतिहासतर्फ संकेत गर्दै नगर प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य लेखराम सापकोटाले करिब ६० वर्षअघिको काव्यगोष्ठीको स्मरण गरे । ‘विसं २०२२ मा देवघाटमा दुई वटा डुङ्गामा काव्यवाचन कार्यक्रम भएको सुनिएको थियो’, उनले भने, ‘त्यसयता यस्तो प्रयास नभएकाले यो कार्यक्रम विशेष बनेको छ ।’
त्यतिबेला राजा महेन्द्र देवघाटधाम अवलोकनका लागि आएका बेला देवघाटको वेणीमा काव्य वाचन गरिएको र उक्त कार्यक्रमलाई आफूले नजिकैबाट नियालेको कार्यक्रमका प्रमुख अतिथि चूडामणि बन्धुले बताए ।
‘कवितावाचनका लागि नाम टिपाएकाहरूले डुङ्गामा बसेर कविता सुनाए । मसँग कविता थिएन । म किनार मै बसेर त्यो माहोल हेरेँ’, बन्धुले इतिहास स्मरण गरे ।
आइतबार र सोमबारको काव्य उत्सवमा सहभागी स्रष्टाहरूले पनि आफ्ना रचनामार्फत पर्यटन र वर्तमान समाजलाई जोड्ने प्रयास गरे । बेलायतमा बस्दै आएका विश्लेषक नारायण गाउँलेले गजलमार्फत देशको वर्तमान अवस्थालाई प्रस्तुत गरे भने पोखराका शिव त्रिपाठीले प्राकृतिक सम्पदा र पर्यटकीय सौन्दर्यलाई छन्दमा उतारे ।

गजलकार एवम् विश्लेषक गाउँलेले पवित्र नारायणीको पानीजहाजमा बसेर कविता सुन्ने र सुनाउने अनुभव अत्यन्तै अनौठो र गर्विलो रहेको सुनाए ।
करिब १०० भन्दा बढी सर्जकहरूको सहभागिता रहेको यस उत्सवमा रचना वाचनसँगै कार्यपत्र प्रस्तुति र काव्य विमर्श पनि समेटिएको थियो । नारायणी नदीमाथि तैरिइरहेको पानीजहाजको आकर्षक मञ्चमा उभिएर लेखक भूपिन खड्काले ‘नेपाली पर्यटन काव्य, सम्भावना र चुनौती’ विषयमा अवधारणापत्र प्रस्तुत गरे ।
भूपिनको अवधारणापत्रको मूल आशय पर्यटन र काव्यबीचको गहिरो सम्बन्ध स्थापित गर्दै ‘पर्यटन काव्य’लाई सम्भावनायुक्त नयाँ साहित्यिक विधाका रूपमा प्रस्तुत गर्नु रहेको छ । भूपिनले मानव सभ्यताको विकास नै यात्रा र गतिशीलतासँग जोडिएको देखाउँदै पर्यटनलाई जीवनको स्वाभाविक र आवश्यक गतिविधि मानेका छन् ।
‘नेपालको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक धरोहरले पर्यटनको ठूलो सम्भावना बोकेको हुँदा यसलाई प्रवर्द्धन गर्न काव्य सिर्जना प्रभावकारी माध्यम बन्न सक्छ’, उनको अवधारणापत्रमा छ ।
उनले अवधारणापत्रमार्फत नेपालमा पर्यटन काव्यसम्बन्धी अध्ययन, विमर्श र कार्यक्रमहरू अझै न्यून रहेको उल्लेख गर्दै यस क्षेत्रमा थप पहल आवश्यक रहेको औंल्याएका छन् ।
समग्रमा, पर्यटन काव्यले साहित्य र पर्यटन दुवैलाई समृद्ध बनाउने पुलको काम गर्न सक्छ भन्ने निष्कर्ष उनले सुनाए । उनको अवधारणापत्रमाथि विवेचना गर्दै नियात्राकार प्रतीक ढकालले नेपालको पर्यटन उद्योगको चर्चा अन्तर्राष्ट्रियस्तरमा सम्मानपूर्वक हुने गरेको बताए । हाम्रो हावापानी र भूबनोटसँग हामीले गर्व गर्नुपर्ने ढकालको तर्क थियो ।
वीरेन्द्र बहुमुखी क्याम्पसका सह-प्राध्यापक रमेशकुमार श्रेष्ठले गैंडाकोटमा बिल्कुल नवीन अनुभवको कार्यक्रममा सहभागी भएको टिप्पणी गरेका छन् । ‘गैँडाकोटले गरेको काव्य उत्सवलाई केवल साहित्यिक जमघट नभई पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्ने सशक्त मञ्चका रूपमा स्थापित गरेको छ’, श्रेष्ठले भने ।
समालोचक उदय अधिकारीले २०२२ सालमा डुङ्गामा गरिएको विशाल साहित्यिक कार्यक्रमको परम्परालाई पुनर्जीवित गर्दै गैँडाकोट प्रज्ञा प्रतिष्ठानले निरन्तरता दिएको बताउँदै यस्तो ऐतिहासिक कार्यका लागि गैँडाकोट नगरपालिका र गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानलाई जति धन्यवाद दिए पनि कम हुने बताए ।
काव्यवाचन कार्यक्रममा विदुर अधिकारी, गोविन्द अर्याल, नीमा पौडेल तिवारी, होमनाथ घिमिरे, राधा कोइराला, भानुभक्त सापकोटा, लीला राना मास्कीमगर, वसुन्धरा पौडेल, अञ्जान प्रदीप, मेनका चापागाईं काप्री, सरस्वती तिमिल्सिना, मुक्तिनाथ घिमिरे, एकदेव रिमाल, विष्णु तिवारी उषा, पोषराज पौडेल, ईश्वर कँडेल, भूपिन, विद्या भण्डारी चिराग, रामकृष्ण अनायासले रचना प्रस्तुत गरेका थिए ।
यसैगरी, धर्मानन्द शर्मा, प्रकाश चापागाईं, उदयनाथ रेग्मी, सञ्जीव पौडेल, डाक्टर उपेन्द्र सापकोटा, हरिप्रिया रिजाल, माधवप्रसाद चालिसे, कृष्णशरण उपाध्याय, शारदा सापकोटा, डाक्टर नारायणप्रसाद अधिकारी, जमुना लम्साल, इन्द्रराज पौडेल, सिर्जन लम्साल, राधा पाण्डे, प्रकाश थापा, बालकृष्ण थपलिया, गोविन्दगोपाल खतिवडा शोभा खनाल कोइराला, नारायण पौडेल, भूमिका गैरे तिमिल्सिना, विष्णुमाया पन्थी, गोविन्द रिमाल, एलबी क्षेत्री, लेखराम सापकोटा, उपेन्द्र त्रिपाठी, विश्वराज लम्साल, रणेन्द्र बराली, सविता तिवारी, कृष्ण उदासी, घनश्याम परिश्रमी, सीमा लामिछाने, मनोहरि पौडेललगायतका स्रष्टाले कविता, गजल, गीतमार्फत आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।
पहिलो दिन र दोस्रो दिन वाचन भएका सिर्जनाहरूको विवेचना कवि भवानी खतिवडाले गरेकी थिइन् । खतिवडाले स्रष्टाले वाचन गरेकै छन्द र लय अनुसार समछन्दमा ४/४ लाइनमा टिप्पणी प्रस्तुत गरेकी थिइन् ।
जलयात्रा सकिएपछि कविहरू केबुलकारमार्फत् मौलाकालिका मन्दिर पुगेर कालिका भगवतीको दर्शन गरी देवघाटधाम, गैँडाकोट र चितवनका सुन्दर दृश्यको अवलोकन गरेका थिए ।