
‘ठूलो आक्रमण थियो दक्षिणपन्थीहरूबाट, बाहिरका दुस्मन र भित्रका दुस्मन पनि एक्सपोज भए‚’ बुधबार कास्की पुगेर नेकपा एमालेका तत्कालीन कार्यवाहक अध्यक्ष रामबहादुर थापा 'बादल' गर्जिए ।
थापाको सिधा प्रहार पार्टीका अर्का उपाध्यक्ष विष्णु पौडेलतर्फ लक्षित थियो । पहिलो दिनको संसद् बैठकमा संसदीय दलको नेताको हैसियतमा थापा बोलेका थिए ।
उक्त दिन थापाले सरकार‚ बारबरा फाउन्डेसन र नेपाली सेनालगायत विविध पक्ष जोडेर राष्ट्रिय स्वतन्त्र पार्टीको जीतमा प्रश्न उठाएका थिए ।

यसमा चित्त नबुझाएका उपाध्यक्ष विष्णु पौडेल‚ उपमहासचिव योगेश भट्टराई, महासचिवमा पराजित प्रभावशाली नेता सुरेन्द्र पाण्डेहरूले बादलको चर्को विरोध गरेका थिए ।
भोलिपल्टै बसेको सचिवालय बैठकले उक्त अभिव्यक्तिमाथि बोल्नुपरेको थियो । त्यही ‘रिसको झोक’ बादलले पोखरा पुगेर फेरेका हुन् ।
आफूले पार्टीको लाइनअनुसार नै संसदीय दलको नेताको हैसियतमा बोलेको बताउँदै उनले केन्द्रीय सचिवालयको बैठक बसेर अर्को वक्तव्य जारी गर्दा 'कन्फ्युजन क्रिएट' भएको समेत बताएका थिए ।
उपाध्यक्ष पौडेलविरुद्ध रोस प्रकट गर्दै उनले पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्तिलाई 'एक्सपोज' गरेको बताए ।
‘दलको नेताले जुन धारणा राख्नुभयो संसद्मा, त्यो पार्टीको स्थापित मान्यताविपरीत छ । त्यसमा घोर आपत्ति छ । यस बारेमा अब सचिवालयको बैठक बसेर उपयुक्त निर्णय लिइनेछ भनेर‚’ पौडेलले भनेका थिए ।
बादलको पछिल्लो अभिव्यक्तिको तंरग पार्टी पंक्तिभित्र गहिरो रूपमा परेको छ । बिहीबार उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमा कविता लेखेर बादलको अभिव्यक्तिमाथि कटाक्ष गरेका छन् ।
‘बादल मडारियो,
मुसलधारे वर्षा भयो,
जबज निथ्रुक्कै भिज्यो,
मदन तीन छक्क पर्नुभयो,
हामी हेरेको हेर्यै भयौं !
(स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ)
यस्तै, एमालेकै अर्का नेता सुरेन्द्र पाण्डेले 'माओवादी जनयुद्ध' को भाष्य एमालेको आधिकारिक भाष्य हुन नसक्ने स्पष्ट पारेका छन् ।
एमालेको मूल बाटो 'जनताको बहुदलीय जनवाद' भएको भन्दै उनले शान्तिपूर्ण प्रतिस्पर्धा, संवैधानिक सर्वोच्चता र जनताको मतलाई नै परिवर्तनको अन्तिम आधार मान्ने स्पष्ट पारेका छन् ।
लामै समय केपी ओलीको शासन चलेको एमालेभित्र माधव नेपालहरू बाहिरिएपछिकै सबैभन्दा ठूलो आन्तरिक कलह सतहमा आएको हो । ७० वर्षे उमेरहद र दुई कार्यकाल पार्टी नेतृत्वजस्ता विधानका धारा संशोधन गरेर ओली तेस्रोपटक अध्यक्ष बनेका छन् ।
ओली शासन अघि बढिरहँदा पार्टीभित्रको आन्तरिक लोकतन्त्र र वाक स्वतन्त्रता मरिसकेको आरोप लाग्ने गरेको थयो । केही समयअघि भएको महाधिवेशनमा एक हदसम्म आन्तरिक लोकतन्त्रको प्रयोग गर्ने प्रयास भएको थियो, जसलाई पार्टी संसदीय दलको नेता चयनसम्म आइपुग्दा ‘घाँटी निमठ्ने’ काम भइसकेको देखिन्छ ।
२१ फागुनको निर्वाचनमा आन्तरिक र बाह्य असन्तुष्टिको शिकार केपी ओली मात्र भएनन्, सिङ्गो नेकपा एमाले नै भयो । २३ र २४ भदौको जेनजी विद्रोह अघिसम्म सत्ताको चाबी बोकेर हिँडेको एमाले अहिले तेस्रो दलका रूपमा एकदमै कम सीटका साथ खुम्चिएको छ । यति गर्दा एमालेले जनमत र सामाजिक चाहना बुझ्न सकेको छैन ।
गौरीबहादुर कार्की आयोगले केपी शर्मा ओलीलाई जेनजी विद्रोहको खलनायक करार गरेपछि सरकारले कारबाही प्रक्रिया अघि बढाएको स्थितिमा एमालेभित्र अन्तरकलह चुलिएको हो ।
तर, एमाले संस्थापन लचक हुनुको सटो झन् आक्रामक बनिरहेको छ । घमन्ड अलिकति पनि कम नभएको भनेर जनस्तरमै आलोचना हुने गरेको छ । एमाललाई जनताले टाढा बनाउँदै छन् भन्ने सामान्य चेत पनि देखिएको छैन ।
यस्तै, रबैयाको विरोधमा असन्तुष्ट पक्षका नेताहरूले आवाज उठाइरहेका छन् ।
‘पार्टीभित्र विभिन्न पृष्ठभूमिबाट आउनुभएका साथीहरूको आफ्ना भोगाइ र बुझाइ हुन सक्छन्, तर जब हामी एमालेको झण्डामुनि गोलबद्ध हुन्छौं, तब हाम्रो बोली र व्यवहार पार्टीको दस्तावेजसँग मेल खानुपर्छ‚’ नेता सुरेन्द्र पाण्डे भन्छन्‚ ‘संसदमा वा सार्वजनिक मञ्चमा व्यक्त हुने व्यक्तिगत भावनाहरूलाई 'पार्टी लाइन' भनेर व्याख्या गर्दा त्यसले कार्यकर्तामा भ्रम र जनतामा अविश्वास मात्र पैदा गर्छ । त्यसमाथि, यस्ता अतिवादी र उग्र दृष्टिकोणहरूले हाम्रो पार्टीलाई समयको गतिसँगै अगाडि लैजानुको साटो झन् पछाडि धकेल्नेछ ।’
बादलको काँधमा ओली टीमको बन्दुक‚ 'काउन्टर'मा इतर समूह
३ पुसमा सम्पन्न भएको पार्टीको ११औं महाधिवेशनबाट एमाले अध्यक्षमा ओली निर्वाचित हुँदा उनलाई ईश्वर पोखरेले टक्कर दिएका थिए । अर्थात्, पार्टीको ११औँ महाधिवेशनमा दुई समूहबीच भिडन्त भएको थियो । त्यसयता पार्टीमा ईश्वर समूह इतर समूहको रूपमा उभिएको छ ।
महाधिवेशनको परकम्प २१ फागुनको टिकट वितरणमा पनि देखियो । आफ्नो समूहको होइन भन्दै ओलीले सुरेन्द्र‚ योगेश, गोकुल बास्कोटालगायत केही नेतालाई टिकट नै दिएनन् । त्यसले पनि पार्टीभित्र असन्तुष्टिको ग्राफ बढाउन सहयोग गरेकै थियो ।
ओली पक्राउ परेपश्चात् बादल कार्यवाहक अध्यक्ष छन् । सोही क्रममा पार्टीभित्र दलको नेता चयन गर्ने काम भयो । महासचिव शंकर पोखरेलले आफू अनुकूल व्यक्तिलाई दलको नेता बनाउँदा बादललाई उपयुक्त पात्र बनाए ।
सुहाङले प्रस्तावक र समर्थक समेत पाउने अवस्था भएन । अनि पहिलो संसद् बैठकमा लगेर बादललाई आफूहरूको एजेन्डाअनुसार अनेक विषय बोल्न लगाएको एमालेका एक नेता बताउँछन्।
‘माओवादीबाट आएका बादललाई ओली समूहले सहज देख्यो । महासचिवले दलको नेता बनाउन र आफूअनुकूल गतिविधि गराउन सफल भएका छन्‚’ ती नेताले भने ।
पार्टीलाई जनताबाट उपेक्षित बनाउने काममा ओली मात्र होइन, शंकर पोखरेलको हात पनि उत्तिकै रहेको अर्का एक नेताको आरोप छ । ‘ओलीपछि म भनेर शंकरजी लाग्नुभएको छ । विष्णु पौडेलहरूसँग अनि कसरी कुरा मिल्छ र अब ?‚’ ती नेताले भने ।
ओलीको अनुपस्थितिमा संस्थापन समूह नै दुई ध्रुवमा उभिने अवस्था आयो । शंकर र विष्णुको पुरानो प्रतिस्पर्धाको छायाँ फेरि देखिन थालेको छ । शंकर पोखरेल‚ विष्णु रिमाल‚ राजन भट्टराईलगायतको इशारामा बादल अघि बढेका छन्, जुन कुरा विष्णु पौडेल मात्र होइन, ईश्वर पोखरेल समूहलाई पनि मन परेको छैन । त्यसैले सबै मिलेर पार्टीमा विशेष महाधिवेशन भन्दै विद्यार्थी नेताहरूबाट हस्ताक्षर अभियान संकलन कार्यलाई बढावा दिइएको स्रोत बताउँछ ।

‘यतिधेरै बिग्रिँदा पनि ओलीको दम्भ घटेको छैन । उनको ग्याङ आज पनि ओलीलाई दम्भी बनाउन लागेकै छ‚’ एमाले स्रोत भन्छ ।
हुन पनि फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद पराजय व्यहोरेपछि एमालेभित्र अहिले उकुसमुकुस चलिरहेकै छ । एमालेमा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको बहस समेत उठ्न थालेको छ ।
उक्त विशेष महाधिवेशनलाई दबाउने भन्दै शंकर पोखरेल र रामबहादुर थापा बादल समूहले धम्की र दबाब दिएका छन् । ‘हामीलाई बोलाएर विशेष महाधिवेशनको हस्ताक्षर रोक । नभए हामी दबाउँछौं भनेर धम्क्याउनु भयो‚’ एक अभियान्ता भन्छन्‚ ‘हामीले डराउँदैनौं भनेर आएका छौं ।’
गत मंसिरमा सम्पन्न महाधिवेशनमा महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डे अब ओलीबाट एमाले चल्न नसक्ने बताउँछन् । लोकान्तर डट्कमसँग कुरा गर्दै पाण्डेले पार्टीको व्यापक पुनर्गठनको अभियान छिट्टै शुरू हुने बताए ।
५ वर्षको अवधिमा १७४ सीटको पार्टी २५ मा झर्ने अवस्था बनेकाले केपी ओलीले नेतृत्व छाड्नुपर्ने उनको भनाइ छ । नेतृत्व छाड्न आफूले ओलीलाई पटक-पटक आग्रह गरेको उनले बताए ।