
राष्ट्रपति रामचन्द्र पौडेलले देशका आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने जोड दिएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ७५औं वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले आर्थिक समृद्धिको मूल आधार व्यापार–व्यवसाय, उद्योगधन्दाको प्रबर्द्धनमा सरकार–निजी क्षेत्र साझेदारी हुनुपर्ने बताए ।
राष्ट्रपतिले आर्थिक समुद्धिबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सहज हुने भएकाले जनताले चाहेको विकास र समृद्धिका निम्ति एकताबद्ध भएर अघि बढ्न सम्बद्ध सबैलाई आह्वान गरे ।
राष्ट्रपति पौडेलले भने, 'मुलुकलाई एउटा जटिल परिस्थितिबाट निकास दिन सफलतापूवर्क सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट स्थापित संसद् र सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन मार्ग प्रशस्त भएको छ । झन्झटरहित सेवा प्रवाह, जनताको जीवनस्तर उकास्ने आर्थिक विकासका योजना कार्यान्वयनलगायत राष्ट्रनिर्माणको गहन दायित्व भएको वर्तमान सरकारले निजी क्षेत्रको साझेदारीमा आर्थिक विकासलाई अघि बढाउने जनअपेक्षा छ ।'
राजनीतिक स्थायित्व आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उनले स्पष्ट नीति र दिगो रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जना हुने भएकाले स्वदेशमा नै कामको अवसर उपलब्ध गराउनु अहिलेको आवश्यकता रहेको उनले बताए । 'आजका युवा देशका भविष्य हुन्, उनीहरूलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न सकेमा देशलाई समृद्धिको मार्गमा दोहोर्याउन सहज हुन्छ,' राष्ट्रपति पौडेलले भने ।
साथै उनले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्नेमा जोड दिए ।