२७ जेठ २०८३, बुधबार

इटहरी गोल्डकप आजदेखि : उद्‌घाटन खेलमा एफसी नाइजेरिया र युवा समाज मोरङ भिड्दै

चैत ३०, २०८२
सुनसरी
इटहरी गोल्डकप आजदेखि : उद्‌घाटन खेलमा एफसी नाइजेरिया र युवा समाज मोरङ भिड्दै
फाइल फोटो

सुनसरीको इटहरीमा आजदेखि १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फूटबल प्रतियोगिता शुरू हुँदैछ ।

आयोजक राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरीस्थित रङ्गशालामा आज साँझ ६ः३० बजेदेखि रात्रिकालीन रूपमा सञ्चालन हुने प्रतियोगिताको उद्‌घाटन खेलमा जस्ट जोन एफसिनाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

आजदेखि शुरू भई आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक अनुरोध थापाले बताए ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता खेलाडीलाई २५ हजार प्रदान गरिने छ । त्यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख प्रदान गरिनेछ भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई २० हजार तथा ‘म्यान अफ दी म्याच’ घोषित खेलाडीलाई १० हजार पुरस्कार प्रदान गरिने संयोजक थापाले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत आगामी वैशाख १ गते मच्छिन्द्र क्लब काठमाडौं र झापा–११ फूटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी, वैशाख २ गते राष्ट्रिय जागृति क्लब, इटहरी र सातदोबाटो युथ क्लब, ललितपुरबीच खेल हुनेछ । वैशाख ३ गते प्लानिङ ब्वाइज, काठमाडौं र भारतको युनाइटेड खर्साङ एफसीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

पहिलो चरणका विजेता टोलीहरूबीच वैशाख ४ र ५ गते सेमिफाइनल खेल सञ्चालन गरिनेछ भने प्रतियोगिताको फाइनल खेल वैशाख ७ गते हुनेछ ।

गत वर्ष प्रतियोगिताको उपाधि मच्छिन्द्र क्लब, काठमाडौंले जितेको थियो भने चर्च ब्वाइज युनाइटेड क्लब उपविजेता बनेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्