२६ जेठ २०८३, मंगलबार

प्रधानमन्त्री कप क्रिकेटमा आसिफ शेख र विनोद भण्डारीले बनाए कीर्तिमान

चैत ३०, २०८२
काठमाडौं
प्रधानमन्त्री कप क्रिकेटमा आसिफ शेख र विनोद भण्डारीले बनाए कीर्तिमान

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटमा एपीएफ क्लबका ब्याट्सम्यान आसिफ शेख र त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले कीर्तिमान बनाएका छन् ।

प्रधानमन्त्री कपको सोमबार वीरगञ्जमा जारी मधेश प्रदेशविरुद्धको खेलमा एपीएफ क्लबका ओपनर ब्याट्सम्यान आसिफ शेखले दुई सय आठ रन बनाए ।

‘रिटायर्ड आउट’ भई पेभेलियन फर्किनुअघि उनले केवल एक सय ४२ बलको सामना गरी १७ छक्का र १५ वटा चौका पनि हिर्काए ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले आसिफकै दोहोरो शतकका कारण निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय ९० रन बनायो ।

उनी प्रधानमन्त्री कप क्रिकेटको इतिहासमा दोहोरो शतक बनाउने पहिलो खेलाडी पनि बनेका छन् । यसअघि कुनै पनि ब्याट्सम्यानले दोहोरो शतक बनाउन सकेको थिएन ।

यसैगरी, जनकपुरमा जारी कोशी प्रदेशविरुद्धको खेलमा आर्मी क्लबका ब्याट्सम्यान विनोद भण्डारीले एक सय ८९ रन बनाए । उनले एक सय ५० बलमा पाँच छक्का र २१ चौका प्रहार गरे ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबले उनकै उत्कृष्ट प्रदर्शनका कारण निर्धारित ओभरमा आठ विकेट गुमाएर तीन सय ६२ रन बनायो ।

विनोद भण्डारीले प्रधानमन्त्री कप क्रिकेटमा बनाएको यो पाँचौं शतक हो । उनले अघिल्लो संस्करणमा तीन र जारी संस्करणमा दुई शतक बनाएका हुन् ।

उनी प्रधानमन्त्री कप क्रिकेटमा पाँच शतक प्रहार गर्ने एकमात्र खेलाडी पनि हुन् । उनले सातवटा अर्धशतक पनि प्रहार गरेका छन् ।

प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पनि उनी पहिलो स्थानमा छन् । प्रधानमन्त्री कपमा उनले कूल एक हजार आठ सय २२ रन बनाएका छन् ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा आसिफ शेख दोस्रो स्थानमा छन् । उनले कूल एक हजार ६ सय ६२ रन बनाएका छन् । उनले चार शतक र आठ अर्धशतक प्रहार गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्