२७ जेठ २०८३, बुधबार

अर्जुनको कीर्तिमानसँगै गण्डकीले कर्णालीलाई हरायो

बैशाख १, २०८३
काठमाडौं
अर्जुनको कीर्तिमानसँगै गण्डकीले कर्णालीलाई हरायो
फाइल तस्वीर

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई नौ विकेटले हराएको छ । 

वीरगञ्जस्थित नारायणी रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेश २५.२ ओभरमै केवल ७२ रन बनाउँदै अलआउट भएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले १३ ओभरमै केवल एक विकेट गुमाएर ७४ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । गण्डकी प्रदेशको जितमा ओपनर सिबरिन श्रेष्ठले अविजित ४० रनको योगदान गरे ।

उनले ३४ बलमा एक छक्का र पाँच चौका पनि हिर्काए । दीपक डुम्रेले पनि टोलीका लागि अविजित २२ रनको योगदान गरे । ओपनर अर्जुन कुमाल भने ६ रन बनाउँदै आउट भए । उनी प्रधानमन्त्री कप क्रिकेटको इतिहासमा एउटै संस्करणमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् । उनले कुल पाँच सय चार रन बनाएका छन् । 

कर्णालीका बलर विपिन शर्माले एक विकेट लिए । त्यसअघि, कर्णाली प्रदेशका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । अर्जुन घर्तीले १३, कप्तान दिवान पुनले १४ र प्रकाश जैसीले अविजित १५ रन बनाए । गण्डकी प्रदेशका बलर विपिन खत्री एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा चार मेडन राख्दै केवल १८ रन खर्चिए । 

अपराजित पौडेलले पनि तीन विकेट हात पारे । कर्णाली र गण्डकी प्रदेश दुवैको फाइनलमा पुग्ने सम्भावना भने यसअघि नै समाप्त भइसकेको छ । यी दुबै टोलीले आफ्नो अन्तिम खेल खेलिरहेका हुन् । नौ खेलबाट नौ अंक जोडेको गण्डकी प्रदेश तालिकाको छैटौँ स्थानमा आसिन छ । समान खेलबाट तीन अंक बटुलेको कर्णाली प्रदेश नवौँ स्थानमा छ । 

अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ । त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश यसअघि नै फाइनलमा पुगिसकेका छन् । अंक तालिकाको माथिल्लो ६ स्थानमा रहने टोलीले जय ट्रफी क्रिकेट प्रतियोगिताको आगामी संस्करण खेल्ने अवसर पाउने छन् ।

salt training

कमेन्ट गर्नुहोस्