
गण्डकी प्रादेशिक क्रिकेट संघ र अस्ट्रेलियाको मेलबर्नस्थित भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच क्रिकेट विकासका लागि सम्झौता भएको छ ।
गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देल र भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजीका अन्तर्राष्ट्रिय निर्देशक बाबु खनालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार, भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजीले एक वर्षका लागि गण्डकी प्रदेशको पुरुष सिनियर टिम र महिला सिनियर टिमलाई प्रायोजन गर्नेछ ।
गण्डकी प्रदेशका टिमहरूले कुनै पनि राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा जर्सीको ‘चेस्ट’ मा भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजीको लोगो प्रयोग गर्नेछन् ।
हाललाई सम्झौताको अवधि एक वर्षका लागि हुने र आगामी दिनमा यसलाई वार्षिक रूपमा नवीकरण गरिने बताइएको छ ।
सम्झौता कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य सुदिप शर्मा, नवलपुर जिल्ला क्रिकेट संघका अध्यक्ष धामनाथ सापकोटा तथा भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रतिनिधि सागर कँडेल र पवित्रा खनालसहित प्रदेशका खेलाडीहरूको उपस्थिति रहेको थियो ।
भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजीका अन्तर्राष्ट्रिय निर्देशक खनालले सम्झौतालाई निरन्तरता दिने र आगामी दिनमा क्रिकेट विकासका अन्य क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।