२६ जेठ २०८३, मंगलबार
पीएम कपको फाइनल

‘अपराजित’ आर्मीलाई ‘उपाधिको भोको’ सुदूरपश्चिमको चुनौती

बैशाख ३, २०८३
काठमाडौं
‘अपराजित’ आर्मीलाई ‘उपाधिको भोको’ सुदूरपश्चिमको चुनौती

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनल खेल शुक्रबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच खेलिँदै छ । खेल वीरगञ्जस्थित नारायणी रंगशालामा बिहान ९:०० बजे शुरू हुनेछ ।

लिग चरणको खेलपछि तालिकामा आर्मी क्लब पहिलो र सुदूरपश्चिम प्रदेश दोस्रो हुँदै फाइनलमा पुगेका हुन् । जारी प्रतियोगितामा एक खेल पनि नहार्ने आर्मी क्लब एक मात्र टोली हो । आर्मी क्लबले नौ खेलबाट १७ अंक जोड्यो । आर्मीको एक खेल भने अनिर्णित रूपमा सकिएको थियो ।

सुदूरपश्चिम प्रदेशले भने नौ खेलबाट १२ अंक बटुल्यो । पहिलोपटक प्रधानमन्त्री कपको फाइनलमा पुगेको सुदूरपश्चिमले लिग चरणमा ६ जित र तीन हारको नतिजा निकाल्यो । हालसम्म अब्बल प्रदर्शन गर्दै आएका यी दुई टोलीबीचको उपाधि भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको लिग चरणमा पनि यी दुई टोली एकपटक आपसमा भिडेका थिए । जनकपुरस्थित राम–जानकी क्रिकेट स्टेडियममा खेलिएको उक्त खेलमा आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई सात विकेटले हराएको थियो ।

उक्त खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सुदूरपश्चिम प्रदेशले ३८.१ ओभरमै अलआउट हुनुअघि एक सय ५० रन मात्र बनाउन सकेको थियो । जवाफमा आर्मी क्लबले २०.२ ओभरमै केवल तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

जारी प्रतियोगितामा आर्मी क्लब निकै सन्तुलित देखिएको छ । अनुभवी खेलाडी विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी क्लबको ब्याटिङ, बलिङ र फिल्डिङ गरी तीनवटै पक्ष अब्बल छ । जारी प्रतियोगितामा तीन सयभन्दा बढीको योगफल बनाउने चार टोलीमध्ये आर्मी पनि एक हो ।

null

आर्मी क्लबले कोशी प्रदेशविरुद्धको खेलमा निर्धारित ओभरमा आठ विकेट गुमाएर तीन सय ६२ रन बनाएको थियो । जारी प्रतियोगितामा हालसम्म बनेको यो दोस्रो ठूलो स्कोर हो । आर्मी क्लबले जारी प्रतियोगितामा पाँचपटक दुई सयभन्दा बढी रन बनाएको छ ।

जारी प्रतियोगितामा सर्वाधिक एकल रन बनाउने ब्याट्सम्यानको सूचीमा आर्मीका कप्तान विनोद भण्डारी तेस्रो स्थानमा छन् । उनले नौ खेलको आठ पालीमा कुल चार सय दुई रन बनाइसकेका छन् । यस क्रममा उनले दुई शतक र एक अर्धशतक प्रहार गरेका छन् ।

यसैगरी, टोलीका अर्का अनुभवी खेलाडी भीम सार्कीले पनि नौ खेलको आठ पालीमा कुल दुई सय ४९ रन बनाएका छन् । उनले तीनवटा अर्धशतक प्रहार गरेका छन् । कुशल मल्लले पनि आठ पालीमा एक अर्धशतकको मद्दतले कुल दुई सय ३७ रन बनाएका छन् ।

आर्मीका ओपनर ब्याट्सम्यान तृतराज दास पनि लयमा छन् । उनले आठ पालीमा तीन अर्धशतकको मद्दतले कुल दुई सय ३५ रन बनाएका छन् । बसिर अहमदले पनि एक शतकको मद्दतले टोलीका लागि दुई सय सात रनको योगदान गरिसकेका छन् ।

आर्मी क्लबका बलरहरू पनि लयमा देखिएका छन् । बसिर अहमदले हालसम्म १७ विकेट लिइसकेका छन् । नरेश साउदले १५, साहब आलमले १४, आकाश चन्दले १२ र कुशल मल्लले १० विकेट लिइसकेका छन् ।

सुदूरपश्चिम प्रदेशले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर, सुदूरपश्चिम प्रदेशको ब्याटिङमा एकरूपता देखिँदैन । सुदूरपश्चिम प्रदेशले जारी प्रतियोगितामा दुई खेलमा मात्र दुई सयभन्दा बढी रन बनाउन सकेको छ ।

null

सुदूरपश्चिमले एपीएफ क्लबविरुद्ध दुई सय १४ र बागमती प्रदेशविरुद्ध दुई सय नौ रन बनाएको थियो । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा सुदूरपश्चिम प्रदेशका नारायण जोशी पाँचौँ स्थानमा छन् । उनले नौ खेलको आठ पालीमा कुल तीन सय तीन रन बनाएका छन् ।

यस क्रममा उनले तीनवटा अर्धशतक पनि बनाएका छन् । जारी प्रतियोगितामा तीन सयभन्दा बढी रन बनाउने सुदूरपश्चिम प्रदेशका उनी एकमात्र ब्याट्सम्यान हुन् । अभिषेक पालले पनि नौ खेलमा एक अर्धशतकको मद्दतले कुल दुई सय ४७ रन बनाएका छन् ।

यसैगरी, खड्क बहादुर बोहराले एक अर्धशतकको मद्दतले कुल एक सय ६१ रन जोडेका छन् । दीपक बोहराले सात खेलमा कुल एक सय ३७ रन बटुलेका छन् । ब्याटिङको तुलनामा सुदूरपश्चिम प्रदेशका बलरले भने गजबको प्रदर्शन गर्दै आएका छन् ।

सुदूरपश्चिम प्रदेशका मध्यमतेज गतिका बलर हेमन्त धामी जारी प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने बलरको सूचीमा संयुक्त रूपमा पहिलो स्थानमा आसीन छन् । उनले नौ खेलमा २५ विकेट लिइसकेका छन् ।

बागमती प्रदेशका लेग–स्पिनर सन्दीप लामिछानेले पनि २५ विकेट लिएका छन् । हेमन्त र सन्दीप दुबैले एक–एक खेलमा सात विकेट पनि लिएका छन् । सुदूरपश्चिम प्रदेशकै स्पिनर शेर मल्ल सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन् ।

मल्लले नौ खेलमा २२ विकेट लिइसकेका छन् । बायाँहाते बलर अशोक धामीले पनि कुल नौ विकेट हात पारेका छन् । विकेटकिपरको भूमिकामा आमी क्लबका अर्जुन साउद र सुदूरपश्चिम प्रदेशका दीपक बोहराले पनि अब्बल प्रदर्शन गर्दै आएका छन् ।

अर्जुन साउदले विकेटकिपरको भूमिकामा विपक्षी टोलीका १४ ब्याट्सम्यानलाई पेभेलियन फर्काएका छन् । उनले उनले १० ब्याट्सम्यानको क्याच लिएका हुन् भने चार ब्याट्सम्यानलाई स्टम्पिङ गरेका छन् । दीपक बोहराले पनि विपक्षी टोलीका नौ ब्याट्सम्यानलाई पेभेलियन फर्काएका छन् । उनले नौ ब्याट्सम्यानकै क्याच लिएका हुन् ।

शुक्रबारको फाइनलमा एकातिर, आर्मी क्लब अपराजित रहँदै उपाधि कुम्ल्याउने धुनमा रहने छ भने अर्कोतिर, उपाधिको भोको सुदूरपश्चिम प्रदेश ठूला प्रतियोगिताको फाइनलमा पुग्दै पराजित हुने विगतलाई बिर्सिएर महत्त्वपूर्ण उपाधि कुम्ल्याउने योजनामा रहने छ । सुदूरपश्चिम प्रदेश यसअघि दुईपटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पराजित भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्