
नेपाल बुद्धिचाल महासंघले यही वैशाख १६ देखि १८ गतेसम्म नेशनल रापिड तथा ब्लिट्ज चेस च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।
महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको बैठकले उक्त च्याम्पियनसिपको स्थानीय व्यवस्थापनको जिम्मेवारी क्षेत्रपाटी क्लबलाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।
बैठकले आगामी जेठ ४ देखि ८ गतेसम्म झापाको बिर्तामोडमा २७औं खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा ११औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि राष्ट्रिय ‘बी’ छनोट सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
राष्ट्रिय ‘बी’ छनोट प्रतियोगिता आयोजना गर्न स्थानीय व्यवस्थापनको जिम्मेवारी काँकडभिट्टास्थित नाइट चेस क्लबलाई प्रदान गरिएको छ । उक्त छनोट प्रतियोगिताबाट पुरुष तथा महिला दुवैतर्फ ९/९ जना खेलाडी नेशनल ‘ए’ का लागि छनोट हुनेछन् ।
यसैगरी, नेशनल ‘ए’ पुरुष तथा महिलाको राष्ट्रिय प्रतियोगिता जेठ २९ देखि असार ४ गतेसम्म कास्कीमा सञ्चालन हुनेछ ।
राष्ट्रिय प्रतियोगिताबाट समान चार/चार जना खेलाडी उज्बेकिस्तानमा आयोजना हुने ४७औं चेस ओलम्पियाडका लागि छनोट हुनेछन् ।
वार्षिक रुपमा नियमित आयोजना हुँदै आएका सात विधागत राष्ट्रिय प्रतियोगितामध्ये जेठ १० देखि १२ गतेसम्म ललितपुरमा नेशनल जुनियर चेस च्याम्पियनसिप आयोजना गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ ।
नेपाल बुद्धिचाल महासंघले आफ्नो विधानअन्तर्गत नियमित साधारणसभा मधेश प्रदेशको धनुषास्थित जनकपुरधाममा गर्ने निर्णय गरेको छ ।
आबद्ध ५५ जिल्ला संघमध्ये अधिवेशन हुन नसकेका जिल्लाको हकमा चेस खेलको गतिविधि भए/नभएको अनुगमन गरि मूल्यांकनका आधारमा जिल्ला बुद्धिचाल संघ तदर्थ समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
अनुगमन उप–समितिमा अध्यक्ष हेराकाजी महर्जन संयोजक रहने छन् । अन्य सदस्यमा वरिष्ठ उपाध्यक्ष दीपेन राई, उपाध्यक्ष माधवप्रसाद प्रधान, महासचिव धरमबहादुर लामा र खेलाडी रुपेश जैसवाल रहेका छन् ।
उप–समितिले एक साताभित्र रिपोर्ट तयार गरि वैशाख १२ गते बस्ने कार्य समितिको बैठकमा जिल्लाहरूको तदर्थ समिति गठनको लागि प्रतिवेदन पेश गर्नेछ ।
महासंघले आगामी नेशनल रापिड र ब्लिट्ज चेसको प्रमुख निर्णायकमा एफए सोराज ताम्राकार तथा नेशनल ‘बी’ को प्रमुख निर्णायकमा एफए भूपेन्द्र निरौलालाई जिम्मेवारी प्रदान गरेको महासंघका प्रवक्ता राजु ताम्राकारले जानकारी दिए ।