२६ जेठ २०८३, मंगलबार

एकपछि अर्को विदेशी खेलाडीमाथि किन प्रतिबन्ध लगाउँदै छ पाकिस्तानी क्रिकेट बोर्ड ?

बैशाख ८, २०८३
काठमाडौं
एकपछि अर्को विदेशी खेलाडीमाथि किन प्रतिबन्ध लगाउँदै छ पाकिस्तानी क्रिकेट बोर्ड ?

जिम्बाब्बेका खेलाडी ब्लेसिङ मुजरबानीपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले श्रीलंकाका खेलाडी दासुन शानकामाथि पनि आफ्नो देशभित्र फ्रेन्चाइज प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

आखिर पीसीबीले एकपछि अर्को विदेशी खेलाडीमाथि आफ्नो देशभित्र फ्रेन्चाइज प्रतियोगिता खेल्न नपाउने गरी किन प्रतिबन्ध लगाउँदै छ त ?​​ पीसीबीका अनुसार आफ्नो देशभित्र आयोजना हुने फ्रेन्चाइज लिगको प्रतिष्ठा जोगाउन यस्तो निर्णय लिइएको हो ।

पहिले पाकिस्तान सुपर लिग (पीएसएल) खेल सम्झौता गर्ने र अर्को उपयुक्त अवसर पाएपछि पीएसएल छाड्ने प्रवृत्ति बढ्दै गएकाले यस्तो निर्णय लिएको पीसीबीले जनाएको छ । श्रीलंकाली खेलाडी दासुनले पनि यस्तो व्यवहार देखाएकाले उनीमाथि पनि प्रतिबन्ध लगाइएको पीसीबीले जनाएको छ ।

समाचारमा जनाइए अनुसार दासनु शानकाले पहिले लाहोर कलन्दर्सबाट पीएसएल खेल्ने सम्झौता गरेका थिए । तर, पीएसएलको सिजन शुरू हुनुअघि नै उनी चिरप्रतिद्वन्द्वी राष्ट्र भारतमा आयोजना हुने इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब राजस्थान रोयल्समा आबद्ध भए ।

त्यसैले पीसीबीले उनमाथि एक वर्षसम्म पीएसएल खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । ‘दासुनले पीएसएलको खेलाडी दर्तासम्बन्धी सम्झौता उल्लंघन गरेकाले उनीमाथि एक वर्षको प्रतिबन्ध लगाउने निर्णय गरिएको छ,’ पीसीबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आईपीएलको सिजन शुरू हुनुअघि नै राजस्थान रोयल्सका प्रभावशाली अलराउन्डर सामकरन घाइते भएका थिए । उनकै स्थानमा राजस्थान रोयल्सले दासुनलाई टोलीमा आबद्ध गरेको थियो । ‘पीएसएलको प्रतिष्ठा जोगाउन पनि यो कारवाही आवश्यक थियो,’ पीसीबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि, जिम्बाब्बेका खेलाडी ब्लेसिङ मुजरबानीमाथि पनि पीसीबीले दुई वर्ष पीएसएल खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । पीसीबीले उनीमाथि पनि सम्झौता उल्लंघनको आरोप लगाएको थियो ।

पीसीबीका अनुसार, मुजरबानीले सन् २०२६ को फ्रेन्चाइज प्रतियोगिता पीएसएल क्लब इस्लामाबाद युनाइटेडबाट खेल्ने सम्झौता भएको थियो । तर, अन्तिम समयमा आएर उनी सम्झौता उल्लंघन गर्दै आईपीएल क्लब कोलकाता नाइट राइडर्समा आबद्ध भए ।

मुरजरबानीले भने आफूमाथि लगाइएको आरोप गलत भएको दाबी गर्दै आएका छन् । उनले इस्लामावाद युनाइटेडसँग आफूले आधिकारिक रूपमा कुनै सम्झौता नगरेको बताएका छन् । यो विवाद अहिले पनि जारी नै छ ।

salt training

कमेन्ट गर्नुहोस्