२६ जेठ २०८३, मंगलबार
आईसीसी क्रिकेट विश्वकप लिग–२

दीपेन्द्रको उत्कृष्ट अर्धशतकसँगै नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य

यूएईका ६ खेलाडीको ‘डेब्यू’
बैशाख १२, २०८३
काठमाडौं
दीपेन्द्रको उत्कृष्ट अर्धशतकसँगै नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शनिबार जारी खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई जितका लागि दुई सय एक रनको मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय रन बनाएको हो ।

नेपाली टोलीका ब्याट्सम्यानहरूले गतिलो प्रदर्शन गर्न सकेनन् । टोलीको कूल स्कोर ५० रन पुग्नुअगावै नेपालले चार विकेट गुमाइसकेको थियो ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पाली खेले । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले ७५ रन बनाए । यसक्रममा उनले ९० बलको सामना गरी दुई छक्का र पाँच चौका हिर्काए ।

दीपेन्द्रले ५९ बलमै एक छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रले बनाएको यो छैटौँ अर्धशतक हो ।

ओपनर कुशल भुर्तेल २५ बलमा चार चौकाको मद्दतले २४ रन बनाउँदै आउट भए । अर्का ओपनर आसिफ शेख पनि सात रनभन्दा अगाडि बढ्न सकेनन् ।

भीम सार्कीले १६ बलमा दुई चौकाको मद्दतले १० रन जोडे भने कप्तान रोहित पौडेल ११ बलमा केवल दुई रन बनाउँदै पेभेलियन फर्किए ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका बसिर अहमदले २० रन बटुले । उनले ४० बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए ।

आरिफ शेखले टोलीको खातामा १५ रन थपे । उनले ३१ बलमा एक चौका हिर्काए । सोमपाल कामी पनि २४ बलमा एक चौकाको मद्दतले १५ रन बनाउँदै आउट भए ।

करण केसी २२ रन बनाउँदै पेभेलियन फर्किए । उनले ३७ बलको सामना गरी एक छक्का र एक चौका हिर्काए । सन्दीप लामिछाने सात बलमा दुई रन बनाउँदै आउट भए ।

अन्तिम ब्याट्सम्यानका रूपमा क्रिज समाल्न आएका ललित राजवंशी शून्य रनमा अविजित रहे । नेपालले अतिरिक्त रूपमा आठ रन पायो ।

यूएईका बलर अजय कुमारले तीन विकेट लिए । जुनैद सिद्धकीले पनि तीन विकेट हात पारे । खजैमा तनवीरले पनि एक विकेट लिए ।

यही खेलमार्फत यूएईका ६ खेलाडीले एकैपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरे । अक्षदीप नाथ, अदिब उस्मानी, अजय कुमार, हरप्रित सिंह, खुजैमा तनवीर र निलांश केशवानीले ‘डेब्यू’ गरेका हुन् ।

अदिब उस्मानी, अजय कुमार र खजैमा तनवीरले त ‘लिस्ट ए’ क्रिकेट नै पहिलो पटक खेलेका हुन् । अजय कुमार र खुजैमा तनवीरले आफ्नो ‘डेब्यू’ खेलमै विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्