
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शनिबार सम्पन्न खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ३७ रनले हराएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली यूएईले भने ४८.२ ओभरमै अलआउट हुनुअघि एक सय ६३ रनमात्र बनाउन सक्यो ।
मध्यम लक्ष्य पछ्याएको यूएईलाई जितसम्म पुग्न नदिन नेपाली टोलीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे ।
यूएईले ३९ रनको कुल स्कोरमै तीन विकेट गुमाइसकेको थियो ।
नेपाली टोलीका अनुभवी बलर करण केसीले चार विकेट लिए । उनले ९.२ ओभरमा दुई मेडन राख्दै केवल १९ रन खर्चिए ।
सन्दीप लामिछाने र सोमपाल कामीले पनि दुई/दुई विकेट हात पारे । दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक/एक विकेट लिए ।
यूएईका लागि हरप्रित सिंहले ३९ र कप्तान मुहम्मद वसिमले ३४ रन बनाए । अक्षदीप नाथले पनि टोलीको खातामा ३० रन थपे । आर्यान्श शर्मा र निलांश केशवानीले १८/१८ रन बनाए ।
त्यसअघि, नेपाली टोलीका ब्याट्सम्यानहरूले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । टोलीको कुल स्कोर ५० रन पुग्नुअगावै नेपालले चार विकेट गुमाइसकेको थियो ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पाली खेले । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले ७५ रन बनाए । यसक्रममा उनले ९० बलको सामना गरी दुई छक्का र पाँच चौका हिर्काए ।
दीपेन्द्रले ५९ बलमै एक छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रले बनाएको यो छैटौँ अर्धशतक हो ।
ओपनर कुशल भुर्तेल २५ बलमा चार चौकाको मद्दतले २४ रन बनाउँदै आउट भए । अर्का ओपनर आसिफ शेख पनि सात रनभन्दा अगाडि बढ्न सकेनन् ।
भीम सार्कीले १६ बलमा दुई चौकाको मद्दतले १० रन जोडे भने कप्तान रोहित पौडेल ११ बलमा केवल दुई रन बनाउँदै पेभेलियन फर्किए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका बसिर अहमदले २० रन बटुले । उनले ४० बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए ।

आरिफ शेखले टोलीको खातामा १५ रन थपे । उनले ३१ बलमा एक चौका हिर्काए । सोमपाल कामी पनि २४ बलमा एक चौकाको मद्दतले १५ रन बनाउँदै आउट भए ।
करण केसी २२ रन बनाउँदै पेभेलियन फर्किए । उनले ३७ बलको सामना गरी एक छक्का र एक चौका हिर्काए । सन्दीप लामिछाने सात बलमा दुई रन बनाउँदै आउट भए ।
अन्तिम ब्याट्सम्यानका रूपमा क्रिज समाल्न आएका ललित राजवंशी शून्य रनमा अविजित रहे । नेपालले अतिरिक्त रूपमा आठ रन पायो ।
यूएईका बलर अजय कुमारले तीन विकेट लिए । जुनैद सिद्धकीले पनि तीन विकेट हात पारे । खजैमा तनवीरले पनि एक विकेट लिए ।
यही खेलमार्फत यूएईका ६ खेलाडीले एकैपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरे । अक्षदीप नाथ, अदिब उस्मानी, अजय कुमार, हरप्रित सिंह, खुजैमा तनवीर र निलांश केशवानीले ‘डेब्यू’ गरेका हुन् ।
अदिब उस्मानी, अजय कुमार र खजैमा तनवीरले त ‘लिस्ट ए’ क्रिकेट नै पहिलो पटक खेलेका हुन् । अजय कुमार र खुजैमा तनवीरले आफ्नो ‘डेब्यू’ खेलमै विकेट लिए ।
आठ टोलीको सहभागिता रहेको लिग–२ तालिकामा २४ खेलबाट ३६ अंक जोडेको अमेरिका पहिलो र २८ खेलबाट ३४ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छन् ।
ओमान २४ खेलबाट २९ अंक बटुल्दै तेस्रो, नेदरल्यान्ड्स २४ खेलबाट २८ अंक जोड्दै चौथो र नामिबिया २८ खेलबाट २२ अंक हात पार्दै पाँचौँ स्थानमा छन् ।
यसैगरी, २४ खेलबाट २१ अंक जोडेको क्यानडा छैटौँ, २१ खेलबाट १४ अंक हात पारेको नेपाल सातौँ र समान खेलबाट १० अंक कमाएको यूएई आठौँ स्थानमा आसीन छन् ।
सहभागी टोलीहरूका लागि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ ।
लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।
लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्ने हुन्छ ।
यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहन्छ ।
हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ ।
यो सूचीमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् । तीनपटक पटक टी–२० विश्वकप खेलेको नेपालले एकदिवसीय विश्वकप भने खेल्न पाएको छैन ।