
वाशिङ्टन हिल्टनस्थित बलरुमको मुख्य प्रवेशद्वारतर्फबाट आएको ठूलो आवाज सुन्नुअघि मैले भर्खरै आफ्नो काँटा–चम्चा टेबलमा राखेको थिएँ । शुरूमा त्यो आवाजतर्फ खासै ध्यान गएन, तर केही क्षणमै मैले फेरि ध्यान दिएँ ।
म दृष्टिविहीन भएकाले आवाजमा बढी केन्द्रित हुन्छु । त्यसैले मैले तुरुन्तै महसुस गरेँ- त्यो अर्धस्वचालित हतियारबाट निस्कने गहिरो आवाज थियो । त्यसैबीच सिसा फुटेको आवाज पनि सुनियो ।
मैले भर्खरै कुरा गरिरहेको सहकर्मी ड्यानियलको टाउको मेरो छेउबाट छुँदै गएको महसुस गरेँ, र उनी भुइँतिर झुक्दै थिए । म पनि उनीसँगै भुइँमा झरेँ ।
म टेबुलको कपडामुनि घुँडा टेकेर बसेँ, मनमा एकदमै स्पष्ट थियो- यो फेरि अर्को शनिबार रात, अर्को राष्ट्रपतीय कार्यक्रम र फेरि एकपटक गोलीकाण्डको बीचमा म उपस्थित छु ।
सन् २०२४ जुलाईमा पेनसिल्भेनियाको बटलरमा भएको घटनामा पनि म उपस्थित थिएँ, जहाँ राष्ट्रपति केही इन्चको दूरीले ज्यान जोगाएका थिए । त्यतिबेला चिच्याहट र भागदौड मच्चिएको थियो । तर यसपटक फरक थियो- केही सेकेन्डमै हामी सबै टेबुलमुनि थियौं ।
एक सहकर्मीले बताएअनुसार गोली चलेसँगै बाहिरको करिडोरबाट दर्जनौं मानिसहरू बलरुमभित्र दौडिँदै आएका थिए । करिब पाँचदेखि दश मिनेटसम्म हामी टेबुलमुनि बस्यौं । सबैको मनमा एउटै डर थियो- कहीँ बन्दुकधारी पनि कोठाभित्र पसेर त्यहाँ उपस्थित करिब दुई हजार पाँच सय मानिसमाथि गोली चलाउने त होइन ?
अर्की सहकर्मीले बताएअनुसार, हाम्रो पछाडिको मञ्चतर्फ रहेका सुरक्षा निकायका सदस्यहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई तत्काल सुरक्षित स्थानतर्फ लगिरहेका थिए ।
अन्य सुरक्षा अधिकारीहरू हेल्मेट र बुलेटप्रुफ ज्याकेट लगाएर बन्दुक तेर्स्याउँदै थप खतरा छ कि भनेर निगरानी गरिरहेका थिए ।
भोज शुरू हुनुअघि मैले स्वास्थ्य सचिव आरएफके जुनियरलाई बलरुम नजिकैको कोठामा देखेको थिएँ । मैले उनलाई कार्यक्रमप्रति उत्साहित हुनुहुन्छ कि भनेर सोध्दा उनले आफू भोकाएको र छिट्टै कार्यक्रम शुरू होस् भन्ने चाहेको बताएका थिए । उनी म बसेको टेबुलको केही पछाडि थिए ।
त्यसैगरी, मुख्य ढोकातर्फ करिब ३० मिटर पर एफबीआई निर्देशक क्यास पटेल पनि भुइँमै लडेका थिए र आफ्नी साथीलाई जोगाइरहेका थिए, त्यही बेला एक सुरक्षा अधिकारी उनको सहयोगका लागि दौडिरहेका थिए ।
यस्तो घटनामा तुरुन्तै मनमा प्रश्न उठ्छ- के भयो ? किन भयो ? र विशेषगरी, कसरी सम्भव भयो ? फेरि पनि कसरी कुनै बन्दुकधारी राष्ट्रपति नजिकसम्म पुग्न सक्यो ?
हिल्टन वरिपरिका सबै सडकहरू घण्टौँअघि नै बन्द गरिएका थिए, तर स्थलभित्रको सुरक्षा भने त्यति कडा देखिएन ।
बाहिरको ढोकामा रहेका सुरक्षाकर्मीले मेरो टिकट टाढैबाट सामान्य रूपमा हेरेका थिए । लिफ्ट हुँदै बलरुममा जाँदा एक सुरक्षाकर्मीले जाँच गरे पनि मेरो कोटको भित्री खल्तीमा रहेका सामग्रीले आवाज निकाल्दा पनि खासै ध्यान दिएनन्, न त सामान निकाल्न नै भने ।
समग्रमा सुरक्षा व्यवस्था सामान्यजस्तै थियो । जस्तो कि राष्ट्रपतिको उपस्थिति नभएको नियमित व्हाइट हाउस संवाददाता भोजमा हुन्छ ।
घटनापछि हामी बलरुममै रोकिएका थियौं र फोन सिग्नल खोज्दै थप जानकारी लिन र समाचार सम्प्रेषण गर्न प्रयासरत थियौं ।
त्यो क्षणको भयावहता कति ठूलो थियो भन्ने सोच्न मैले आफूलाई रोक्न खोजेँ । तर मनभित्र एउटा चिसो अनुभूति थियो- यस्ता घटनाहरू बारम्बार झेल्दा अन्ततः भाग्य कति दिन साथ दिन्छ ?
[ग्यारी ओ’डोनोग्यू, बीबीसीका उत्तर अमेरिका संवाददाता ]