
राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेको अखिल नेपाल फूटबल (एन्फा) पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाइएको छ । आर्थिक विषयको छानबिनका लागि सबै पदाधिकारीलाई विदेश जान रोक लगाइएको हो ।
राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
खेलकुद मन्त्रालयमार्फत् आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार छानबिन समिति गठन गरिएको थियो ।
अख्तियारको पत्रका आधारमा गत शुक्रबार गृह मन्त्रालयले एन्फाका २२ पदाधिकारीलाई विदेश जान रोक लगाएको हो ।
मन्त्रालयले अध्यागमन विभागलाई परिपत्र गर्दै छानबिनमा रहेकाहरूलाई कालोसूचीमा राख्न निर्देशनसमेत दिइसकेको छ । विभागका एक उच्च अधिकृतले लोकान्तरसँग भने, ‘गृहबाट पत्र आएपछि हामीले कालोसूचीमा राखिसकेका छौं ।'
अर्ली इलेक्सन विवादका कारण एन्फालाई राखेपले चैत ११ मा तीन महिनाका लागि निलम्बन गरेको थियो ।