
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले श्वेतपत्र सार्वजनिक गर्दै निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने बताएका छन् ।
सोमबार देशको वर्तमान आर्थिक स्थितिलाई समेटेर श्वेतपत्र सार्वजनिक गर्दै मन्त्री वाग्लेले अर्थतन्त्रको विद्यमान चुनौतीहरूको सामना गर्दै आर्थिक रूपान्तरणका लागि बहुआयामिक अवसरहरूमा लगानीमैत्री नीतिगत वातावरण निर्माण गरिने बताएका हुन् ।
त्यस्तै, स्थिर सरकारको जगमा सुशासन कायम गर्दै लगानीमैत्री नीतिगत वातावरणमार्फत् निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न सकिने श्वेतपत्रमा उल्लेख छ ।
जसबाट अर्थतन्त्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि भित्र्याउँदै उत्पादनमूलक क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सकिने मन्त्री वाग्ले बताएका छन् ।
जलविद्युतको विशाल सम्भावनालाई सस्तो र भरपर्दो ऊर्जाका रूपमा उपयोग गर्दै औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार र ऊर्जा निर्यातमार्फत् स्थिर वैदेशिक आम्दानी सिर्जना गर्न सकिने अवसर रहेको पत्रमा उल्लेख छ ।