
प्रोफेसनल होल्डिङ्स् लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड)ले चुक्ता पुँजीको ५० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।
गत चैतमा सम्पन्न २०औँ वार्षिक साधारणसभाले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि २.६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
उक्त सभाले आव २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८१/८२ वार्षिक वार्षिक विवरण (२०८२ असार मसान्तसम्मको वासलात र आर्थिक वर्षको आय, व्यय विवरण, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू) पनि पारित गरेको छ ।
यस्तै, आव २०८२/०८३ मा यस कम्पनीको लेखा परीक्षण गर्नका लागि एनबीएसएम एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट फर्मलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण समेत गरिएको छ।
यस्तै, बोनस शेयर जारीपश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजीमा हुने वृद्धिलाई समेत सभाले अनुमोदन गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले कम्पनीको जारी पूँजीको निश्चित प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्ने र सो सम्बन्धमा आवश्यक सम्पूर्ण कानूनी तथा प्रशासनिक प्रक्रियाहरू पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ ।
यस निर्णयसँगै संस्थाले सर्वसाधारणमा शेयर निष्कासन (आईपीओ) गर्ने प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाउँदै भविष्यका लागि नयाँ मार्ग प्रशस्त गरेको छ ।
साथै, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरूमा खर्च गर्ने गरी अनुदान प्रदान गर्ने लगायत अन्य विविध सामान्य तथा विशेष प्रस्तावहरू समेत सभाद्वारा पारित भएको छ ।