
शिलापत्र डटकमले ‘रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२’ सहित विभिन्न ८ विधाका उत्कृष्ट व्यक्तित्व तथा कृतिहरू घोषणा गरेको छ । काठमाडौंको एक होटलमा ५ सयभन्दा बढी सहभागीको उपस्थितिमा आयोजित विशेष समारोहमा ‘वर्षव्यक्ति विशेष म्यागजिन’ विमोचनसँगै विजेताहरू घोषणा गरिएको हो ।
यस वर्ष ‘रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२’ मा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ चयन भएका छन् । उनले नवपुस्ताको ऊर्जा र राजनीतिक परिवर्तनको बहसलाई नेतृत्व गरेका कारण यो सम्मान पाएको शिलापत्रले जनाएको छ ।
‘शिलापत्र वर्षपुस्तक २०८२’ मा डा. नवराज केसीको स्वस्पर्श चयन भएको छ । पुस्तकले मानव संवेदना र आत्मअनुभूतिको गहिरो चित्रण गरेको छ ।
‘वल्र्डलिंक शिलापत्र वर्षकन्टेन्ट क्रिएटर २०८२’ सुरज सुवेदी भए । सुवेदीले गीत–संगीतको व्याख्यात्मक कन्टेन्टमार्फत व्यापक दर्शकसम्म प्रभाव पारेका छन् ।
‘शिलापत्र वर्षखेलाडी २०८२’ रवीन्द्र ढाँट चयन भए, जसले अन्तर्राष्ट्रिय एमएमएमा ऐतिहासिक सफलता दिलाएका थिए ।

‘शिलापत्र वर्षकलाकार २०८२’ झुमा लिम्बू बनिन् । मौलिक संगीतको संरक्षण र प्रवद्र्धनमा लिम्बूले महत्त्वपूर्ण योगदान दिएकी छन् ।
त्यस्तै, ‘शिलापत्र वर्षसिनेमा २०८२’ परान बनेको छ । यो सिनेमाले पारिवारिक संवेदना र सामाजिक यथार्थलाई प्रभावशाली रूपमा प्रस्तुत गर्दै दर्शकको मन जित्यो ।
‘शिलापत्र वर्षउद्यमी २०८२’ आशिष शर्मा चयन भए, जसले नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गरेका छन् ।
‘द गभर्नर शिलापत्र वर्षसीईओ २०८२’ कृष्णप्रसाद न्यौपाने बने । उनले हस्पिटालिटी क्षेत्रमा नेतृत्व र विस्तारमार्फत विशेष योगदान पुर्याएका छन् ।
विजेताहरूलाई कायमुकायम प्रधानन्यायाधीश सपनाप्रधान मल्लले ट्रफी तथा सम्मानपत्र प्रदान गरिन् ।
शिलापत्रका सम्पादक योगेश ढकालका अनुसार, २०७७ सालदेखि सञ्चालन हुँदै आएको कार्यक्रममा बहु–चरणीय छनोट प्रक्रिया र अडियन्सको भर्चुअल मतमार्फत विजेताहरू चयन गरिएका हुन् ।