२७ जेठ २०८३, बुधबार

बलिङ र ब्याटिङ दुवैमा निराशाजनक प्रदर्शनपछि महत्त्वपूर्ण खेलमा ओमानसँग हार्‍यो नेपाल

बैशाख १६, २०८३
काठमाडौं
बलिङ र ब्याटिङ दुवैमा निराशाजनक प्रदर्शनपछि महत्त्वपूर्ण खेलमा ओमानसँग हार्‍यो नेपाल

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाको बुधबार सम्पन्न खेलमा नेपाली टोलीले हार ब्यहोरेको छ । नेपाली टोली ओमानसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय दुई रनले पराजित भएको हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको ओमानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय पाँच रन बनाएको थियो ।

ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले ३६.५ ओभरमा सात विकेट गुमाएर एक सय ५५ रन बनाएपछि वर्षा सुरु भएको थियो ।

लामो समय वर्षाबाट खेल अवरुद्ध भयो । वर्षाका कारण खेल सुचारु हुने अवस्था नबनेपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ओमान विजयी भयो ।

कीर्तिपुर क्रिकेट मैदानमा तीन वर्षपछि नेपाल र ओमान एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आपसमा भिडेका हुन् ।

यसअघि, सन् २०२३ को अप्रिल २१ तारिखमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भने नेपालले ओमानलाई ८४ रनले हराएको थियो ।

कीर्तिपुर मैदानमा नेपाल र ओमानबीच खेलिएको यो चौथो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट हो । त्यसमध्ये तीन खेलमा ओमान र एक खेलमा नेपाल विजयी भएको छ ।

आठ राष्ट्र सहभागी लिग–२ तालिकामा निराशाजनक अवस्थामा रहेको नेपाली टोलीलाई यो हारले थप दबाबमा पारेको छ ।

लिग–२ शृंखला शुरू हुनुअघि खेलिएको अभ्यास खेलमा ओमानको यही टोलीलाई नेपालको ‘ए’ टोलीले एक सय १५ रनको विशालअन्तरले पराजयको स्वाद चखाएको थियो ।

बुधबारको खेलमा ओमानविरुद्ध नेपाली टोलीको बलिङ र ब्याटिङ दुबै कमजोर देखियो । दीपेन्द्रसिंह ऐरीबाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रले ६० रन बनाए । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले ६२ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काए ।

अन्य ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रह्यो । टोलीको कूल स्कोर केवल ५७ रन रहँदा नेपालले चार प्रभावशाली विकेट गुमाइसकेको थियो ।

ओपनर कुशल भुर्तेल एक र आसिफ शेख १९ रनमै पेभेलियन फर्किए । भीम सार्की पनि २८ रनभन्दा अगाडि बढ्न सकेनन् । यद्यपि, उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरे ।

कप्तान रोहित पौडेल १० रनमै आउट भए । बसिर अहमद पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । आरिफ शेखले पनि टोलीको खातामा केवल १४ रन थपे ।

गुलसन झा १४ रनमा र सोमपाल कामी दुई रनमा अविजित रहे । ओमानका बलर नदिम खानले तीन विकेट लिए । सकिल अहमदले पनि दुई विकेट हात पारे ।

त्यसअघि, नेपाली टोलीका बलरहरूको लगातारको आक्रमणलाई विफल बनाउँदै ओमानका लागि ओपनर ब्याट्सम्यान जतिन्दर सिंहले उत्कृष्ट शतकीय पाली खेलेका थिए ।

प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका जतिन्दरले एक सय ३० रन बनाए । उनले यसक्रममा केवल ९६ बलको सामना गरी पाँच छक्का र १५ चौका हिर्काए ।

जतिन्दरले अर्का ओपनर आशिष आडेदराले ८० रनको साझेदारी गरे । आशिष ४८ बलमा एक छक्का र एक चौकाको मद्दतले २३ रन बनाउँदै आउट भए ।

उनीहरूको साझेदारी प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले तोडेका थिए । उनले ओडेदरालाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । ओमानविरुद्ध सन्दीपले दुई विकेट हात पारे ।

लिग–२ प्रतियोगितामा कीर्तिमानको नजिक रहेका सन्दीप एक सय विकेटको कोशेढुङ्गाबाट केवल एक विकेट टाढा छन् । लिग–२ प्रतियोगितामा उनले लिएको विकेट सँख्या ९९ पुगेको छ ।

हाल पनि उनी लिग–२ प्रतियोगिता सर्वाधिक विकेट लिने बलर हुन् । उनले लिग–२ प्रतियोगिताको पहिलो संस्करणमा ७२ र दोस्रो संस्करणमा २७ विकेट लिइसकेका छन् ।

आर्यन बिष्टले पनि टोलीको खातामा ३५ रन थपे । उनले ३५ बलमा एक छक्का र एक चौका हिर्काए । हमाद मिर्जाले ४७ बलमा चार चौकाको मद्दतले ३० रन बनाए ।

जितेन रामानन्दीले ४३ बलमा एक छक्का र चार चौकाको मद्दतले ४३ रन जोडे । विकेटकिपर ब्याट्सम्यान विनायक शुक्लाले पनि १७ बलमा एक छक्का र एक चौकाको मद्दतले २३ रन बटुले ।

नेपाली टोलीका बलर सोमपाल कामीले चार विकेट लिए । उनले नौ ओभरमा ५९ रन खर्चिए । सन्दीपसँगै दीपेन्द्रसिंह ऐरीले पनि दुई विकेट हात पारे ।

सन्दीपले १० ओभरमा २४ र दीपेन्द्रले नौ ओभरमा ५६ रन खर्चिए । नेपाली टोलीले अतिरिक्त रूपमा केवल सात रन पायो ।

लिग–२ तालिकामा २४ खेलबाट ३६ अंक जोडेको अमेरिका पहिलो, २८ खेलबाट ३४ अंक बटुलेको स्कटल्यान्ड दोस्रो र २६ खेलबाट ३१ अंक हात पारेको ओमान तेस्रो स्थानमा छन् ।

यसैगरी, २४ खेलबाट २८ अंक जोडेको नेदरल्यान्ड्स चौथो र २८ खेलबाट २२ अंक हात पारेको नामिबिया पाँचौँ स्थानमा आसीन छन् ।

यसैगरी, २४ खेलबाट २१ अंक जोडेको क्यानडा छैटौँ, २२ खेलबाट १४ अंक हात पारेको नेपाल सातौँ र २२ खेलबाट १२ अंक बटुलेको संयुक्त अरब इमिरेट्स (यूएई) आठौँ स्थानमा छन् ।

सहभागी टोलीहरूका लागि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा रहेको छ ।

लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।

लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्ने हुन्छ ।

यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट प्राप्त एकदिवसीय मान्तयता जोगाउन पनि यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहन्छ ।

हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ ।

salt training

कमेन्ट गर्नुहोस्