
नेपाली टोलीका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर बन्ने सँघारमा छन् ।
त्यसैले शुक्रबार हुने नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको खेल उनका लागि पनि निकै महत्वपूर्ण छ । यो खेलमा एक विकेट लिएसँगै लिग–२ मा उनको एक सय विकेट पूरा हुनेछ ।
त्यसैले यूएईविरुद्धको खेलमा नेपाली क्रिकेटप्रेमीहरू देशको जितसँगै सन्दीपको एक सय विकेटको प्रतिक्षामा पनि रहने छन् ।
समर्थकहरूले यसअघि बुधबार सम्पन्न ओमानविरुद्धको खेलमै उनले यो उपलब्धि हासिल गर्ने अनुमान गरेका थिए ।
तर, ओमानविरुद्धको खेलमा सन्दीपले किफायती बलिङ गर्दै दुई विकेटमात्र लिन सके । त्यो खेलपछि उनले लिग–२ प्रतियोगितामा लिएको विकेट संख्या ९९ पुगेको हो ।
सन्दीपले ओमानका आसिष ओडेदरालाई आफ्नो ९८औँ शिकार बनाएका थिए । उनले ओडेदरालाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए । त्यो उनको ९८औँ विकेट थियो ।
त्यसपछि सन्दीपलले ओमानका आर्यन बिष्टलाई बोल्ड गरेका थिए । लिग–२ प्रतियोगितामा त्यो उनको ९९औँ विकेट थियो । त्यसअघि उनले यूएईविरुद्धको पहिलो खेलमा पनि दुई विकेट लिएका थिए ।
हाल पनि उनी लिग–२ प्रतियोगिता सर्वाधिक विकेट लिने बलर हुन् । उनले लिग–२ प्रतियोगिताको पहिलो संस्करणमा ७२ र दोस्रो संस्करणमा २६ विकेट लिएका छन् ।
लिग–२ प्रतियोगितामा अमेरिकाका सौरभ नेत्रवाल्करले ९३ विकेट लिएका छन् । उनले पहिलो संस्करणमा ५८ र जारी संस्करणमा ३५ विकेट लिएका छन् ।