२६ जेठ २०८३, मंगलबार

पहिलो चरणको नेपाल ५ के रन च्यालेन्ज शनिबार

बैशाख २३, २०८३
काठमाडौं
पहिलो चरणको नेपाल ५ के रन च्यालेन्ज शनिबार

एथलेटिक्स परिवार नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको नेपाल ५ के रन च्यालेन्ज शनिबार हुने भएको छ ।

दौडमा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले बुधबार आयोजित पत्रकार सम्मेलनमा दिए ।

खुला महिला, खुला पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । १८ वर्षमुनि महिला/पुरुष र ३५ वर्ष माथि भेट्रान महिलातर्फ तीन किलोमिटरमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा दुई सय ५० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ । महिला/पुरुष खुला पाँच किलोमिटरमा पहिलोलाई हुनेले १२ हजार, दोस्रोलाई आठ हजार, तेस्रोलाई चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । चौथोदेखि १०औँ स्थानमा आउने पनि नगद पुरस्कार पाउने छन् ।

यसैगरी, ४५ वर्षमाथि भेट्रान पुरुषमा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई पाँच हजार र तृतीयलाई तीन हजार रुपैयाँ प्रदान गरिने छ । यो स्पर्धामा पनि चौथोदेखि १०औँ स्थानमा आउने धावकलाई समेत नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी, १८ वर्षमुनि तीन किलोमिटरमा महिला/पुरुषतर्फ पहिलो हुनेलाई नौ हजार, दोस्रोलाई ६ हजार र तेस्रोलाई तीन हजार रुपैयाँ प्रदान गरिने छ । यो स्पर्धामा पनि चौथोदेखि १०औँ स्थानमा आउने धावकलाई समेत नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी, ३५ वर्षमाथि महिला भेट्रानमा प्रथम हुनेलाई सात हजार, द्वितीयलाई चार हजार र तृतीयलाई दुई हजार प्रदान गरिने छ । यो स्पर्धामा पनि चौथोदेखि १०औँ स्थानमा आउने धावकलाई समेत नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको अनुमानित बजेट सात लाख ६६ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ । पाँच किलोमिटर खुलातर्फ महिला तथा पुरुष दौडमा शीर्ष १५ स्थानमा रहने खेलाडीलाई क्रमशः १५ देखि १ अंकसम्म प्रदान गरिने छ ।

यो दौड दुई महिनाको अन्तरालमा तीन चरणमा हुनेछ । बाँकी दुई चरणको दौडमा पनि पहिलो चरण सरह नै अंक प्रदान गरिनेछ । तेस्रो चरणको समाप्तिपछि ग्रान्ड प्रतियोगिता हुनेछ । ग्रान्ड प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

दौड चाँगुनारायण नगरपालिका भवन परिसरबाट शुरू भई भद्रकाली मोड, घट्टाडिल चोक, घट्टे खोला, पगरी टोल, कुशलटार चोक, सुविधानगर सडक हुँदै पुन: नगरपालिका भवनमा पुगेर सम्पन्न हुनेछ ।

चाँगुनारायण नगरपालिका नगर खेलकुद संयोजक रघु केसीले नगरमा खेलकुद गतिविधिमा उत्साह जगाउन प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्