
तीन वर्षअघि भएको सासू हत्या प्रकरणमा प्युठान प्रहरीले सौतेनी कान्छी बुहारीलाई पक्राउ गरेको छ ।
जिल्लाको स्वर्गद्वारी नगरपालिका–६, डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनार २०७९ मंसिर १ गते मृत फेला परेकी थिइन् ।
प्यारालाइसिसका कारण ओछ्यानमै थलिएकी उनको टाउकोमा चोट लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटनामा मृतककी ३२ वर्षीया सौतेनी कान्छी बुहारी चेती सुनारको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले घटनामा तत्काल प्रतिवादी पहिचान हुन नसक्दा मुद्दा लामो समयसम्म रोकिएको बताए ।
पछिल्लो अनुसन्धानमा संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान अघि बढाइएको भट्टराईको भनाइ छ ।
प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार लामो समयदेखि थलिएकी सासुको रेखदेखका क्रममा बुहारीलाई झन्झट बढ्दै गएको र त्यसै क्रममा घटना भएको अनुसन्धानबाट खुलेको छ ।
टाउकोमा प्रहार गरी हत्या गरिएको र शव बारीमा घिसारेर फालिएको हुनसक्ने अनुमान प्रहरीको छ ।
प्युठान जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ ।
प्रहरीले थप प्रमाण सङ्कलन भइरहेको र निष्पक्ष अनुसन्धानपछि प्रतिवेदन अदालतमा बुझाइने जनाएको छ ।