२६ जेठ २०८३, मंगलबार

७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

बैशाख २७, २०८३
कञ्चनपुर
७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द हरेक दिन बिहान महेन्द्रनगरस्थित कबर्डहलमा भेटिन्छन् । उमेरले ज्येष्ठ नागरिक भए पनि उनको ब्याडमिन्टन खेलप्रतिको जाँगर, मेहनत र मोह भने लोभलाग्दो छ ।

विक्रम संवत् २०५६ देखि यस खेलमा लागेका चन्द ब्याडमिन्टन ‘कार्ट’ मा नपुगी आफ्नो दैनिकी शुरूआत नै नहुने गरेको बताउँछन् । 'ब्याडमिन्टन एकप्रकारले लत जस्तै भइसक्यो, खेल्न नआएको दिन त बेचैन भइन्छ,' चन्दले भने, 'यहाँ मेरो उमेर समूहको खेलाडी कोही पनि छैनन् ।'

उनले हरेक दिन बिहान ४ बजेदेखि योग साधनामा बिताउने गरेको र त्यसपछि ब्याडमिन्टन खेल्न कबर्डहलमा आउने गरेको सुनाए । व्यायाम, योगसाधना र स्वस्थ खानपिन स्वस्थ जीवनका लागि महत्त्वपूर्ण भएकाले आफू पहिलेदेखि नै यसमा सचेत रहेको चन्दको भनाइ छ ।

भन्सार अधिकृतबाट २०७० सालमा सेवानिवृत्त भएका उनको अधिकांश समय खेल र योगसाधनामा बित्ने गरेको छ । 'जागिरमा हुँदा धनगढी, नेपालगञ्ज, भैरहवा र वीरगन्जसम्म पनि ब्याडमिन्टन खेलेँ । नेपालगञ्ज र वीरगन्जमा जिल्लास्तरीय खेलमा तेस्रो स्थान हासिल गरेको सर्टिफिकेट अहिले पनि सुरक्षित राखेको छु,' चन्दले भने ।

आँखामा केही समस्या भएकाले टाढाको कर्क देख्न समस्या भए पनि अझै धेरै वर्षसम्म खेल्न सक्ने हिम्मत रहेको उनको भनाइ छ । 'नियमित व्यायाम र खानपिनमा ध्यान दिइरहेको छु । शरीरले साथ दिएसम्म ब्याडमिन्टन खेलिरहने सोच छ,' चन्दले भने ।

उनले सुदूरपश्चिममा आफ्नो उमेर समूहको ब्याडमिन्टन खेलाडी पाउन गाह्रो रहेको दाबी गरे ।

भीमदत्त नगरपालिका–६ का ६९ वर्षीय प्रेमसिंह भाट पनि दशकौंदेखि यहाँ ब्याडमिन्टन खेलमा नियमित सहभागी भइरहेका छन् । पछिल्लो समय युवा पुस्तामा यस खेलप्रति केही आकर्षण बढे पनि पाको पुस्ताका खेलाडी भने घट्दै गएको उनले बताए ।

विक्रम  संवत् २०६४ यता कबर्डहलमा नियमित खेल्ने गरेको बताउँदै भाटले भेट्रानतर्फ राष्ट्रियस्तरमा उपाधि जितिसकेको जानकारी दिए । 'अब हाम्रो उमेरले राष्ट्रका लागि भन्दा पनि आफ्नो स्वास्थ्यका लागि खेल्ने हो । पछिल्ला दिनमा ब्याडमिन्टन खेल गाउँ/गाउँमा विस्तार हुँदै गएको देख्दा खुसी लाग्छ ।' रासस

salt training

कमेन्ट गर्नुहोस्