२६ जेठ २०८३, मंगलबार

नेपाल भ्रमणको तयारीमा इङ्ल्यान्डको क्रिकेट टोली

बैशाख २८, २०८३
काठमाडौं
नेपाल भ्रमणको तयारीमा इङ्ल्यान्डको क्रिकेट टोली

 इङ्ल्यान्डको पुरुष क्रिकेट टोलीले आगामी अन्तर्राष्ट्रिय क्यालेन्डरभित्र नेपालको भ्रमण गर्न सक्ने सम्भावना देखिएको छ । 

 इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले सन् २०२७ देखि सन् २०३१ सम्मको अन्तर्राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपालमा टी–२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने विषयमा छलफल अघि बढाएको हो ।

हालका वर्षहरूमा नेपाली क्रिकेटले उल्लेखनीय प्रगति गरेको छ । गत वर्ष संयुक्त अरब इमिरेट्समा वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले पहिलो पटक पूर्ण सदस्य राष्ट्रविरुद्ध अन्तर्राष्ट्रिय श्रृंखला जितेको थियो । यद्यपि, अहिलेसम्म टेस्ट खेल्ने कुनै पनि राष्ट्रको सिनियर टोलीले नेपालको भ्रमण गरेको छैन ।

यसैबीच, क्रिकेट आयरल्यान्डले गत मार्चमा नेपाल क्रिकेट संघ (क्यान)सँग पाँच वर्षे रणनीतिक साझेदारी सम्झौताको घोषणा गरेको थियो । जसअन्तर्गत आयरल्यान्डले सन् २०२६–२७ सिजनमा नेपाल भ्रमण गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

नेपाल र इङ्ल्यान्डको सिनियर टोलीबीच पहिलो पटक गत फेब्रुअरीमा भएको टी–२० विश्वकपमा प्रतिस्पर्धा भएको थियो । मुम्बईस्थित वानखेड़े रंगशालामा भएको उक्त खेल अन्तिम बलसम्म पुगेको थियो । त्यो खेलमा इङ्ल्यान्ड विजयी बनेको थियो ।

खेलपछि क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले भारतमै इङ्ल्यान्ड क्रिकेट बोर्डका अधिकारीसँग भेटवार्ता गरेको जनाइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नयाँ विश्व टेस्ट च्याम्पियनसिपको ढाँचा टुंगो नलगाइसकेकाले केही विषय अझै स्पष्ट भइसकेका छैनन् ।

यद्यपि, इङ्ल्यान्ड बोर्डले नेपाल भ्रमणलाई गम्भीर रूपमा विचार गरिरहेको बताइएको छ । इङ्ल्यान्डले नेपाल भ्रमणका क्रममा दुई वा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्न सक्ने सम्भावना छ ।

टी–२० विश्वकपका क्रममा नेपाली समर्थकहरूको उत्साहले अन्तर्राष्ट्रिय क्रिकेट जगतको ध्यान आकर्षित गरेको थियो ।

नेपालका कप्तान रोहित पौडेलले पनि त्यतिबेला इङ्ल्यान्ड वा अष्ट्रेलियाजस्ता ठूला टोली नेपाल आउनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण हुने बताएका थिए । उनले नेपालमा ठूला राष्ट्रको भ्रमणले विश्व क्रिकेटमा नेपालको उपस्थिति अझ मजबुत हुने बताएका थिए ।

यसैबीच, बेलायती प्रसारण संस्था स्काइ स्पोटर्सले आइतबार ‘नेपाल: क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ नामक वृत्तचित्र प्रसारण गरेको थियो । उक्त कार्यक्रममार्फत नेपालको क्रिकेटप्रतिको उत्साह र बढ्दो लोकप्रियता प्रस्तुत गरिएको थियो । कार्यक्रममा पारस खड्काले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय अवसर र अनुभव आवश्यक रहेको बताएका थिए ।

उनले टेस्ट खेल्ने राष्ट्रसँग नियमित प्रतिस्पर्धाले नेपाली खेलाडीहरूको स्तर अझ उकासिने र नयाँ पुस्तालाई प्रेरणा मिल्ने धारणा राखेका थिए । उनका अनुसार, क्रिकेट अहिले नेपालमा खेलमात्र नभई राष्ट्रिय एकताको महत्त्वपूर्ण माध्यम बनिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्