
सरकारले औद्योगिक नीति २०६७ परिमार्जन गरी नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गर्ने भएको छ ।
आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा यो विषय समावेश गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै औद्योगिक नीति परिमार्जन गरी नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गर्ने बताएका हुन् ।
यसका साथै नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा न्यूनीकरण कार्ययोजना कार्यान्वयन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘औद्योगिक नीति २०६७ परिमार्जन गरी नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गरिनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘स्टार्टअप, लघु, साना तथा मझौला उद्यमलाई वित्त प्रविधि बजार र क्षमता विकासमा एकीकृत पहुँच उपलब्ध गराउन राष्ट्रिय उद्यम प्रवर्द्धन सुविधा स्थापना गरिनेछ ।’