२६ जेठ २०८३, मंगलबार

राष्ट्रिय महिला फुटबलको सेमिफाइनल समीकरण पूरा

बैशाख २९, २०८३
बुटवल
राष्ट्रिय महिला फुटबलको सेमिफाइनल समीकरण पूरा

घानाकी खेलाडी लुसिया जेम्सको डबल ह्याट्रिक र क्विनवेलको ह्याट्रिकमा संकटा क्लब, काठमाडौंले गत वर्षको विजेता कपिलवस्तु-११ लाई राष्ट्रिय महिला फुटबलमा ११-१ गोलले पराजित गरेको छ ।

संकटाको यो जितसँगै बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को सेमिफाइनल समीकरण पूरा भएको छ । 

प्रतियोगिता अन्तर्गत मंगलबार संकटा र कपिलवस्तुबीच पहिलो चरणको अन्तिम खेल सम्पन्न भएको हो । एकतर्फी खेलमा संकटा क्लब, काठमाडौंले कपलवस्तु-११ लाई पराजित गर्‍यो । 

संकटाले सेमिफाइनलमा वैशाख ३१ गते अभिषेक चर्च, नवलपुरसँग फाइनल प्रवेशका लागि खेल्ने छ । चर्च आयोजक बीस पचहत्तर युवा परिवार, बुटवललाई पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो । 

सिद्धेश्वर खेलमैदानमा भएको खेलमा संकटाले कपिलवस्तुमाथि सहज जित निकाल्यो । घानाका ३ विदेशी खेलाडी सहभागी गराएको संकटाले शुरूआतदेखि नै आक्रमक खेल खेलेको थियो । 

संकटाका लागि घानाकी लुसिया जोम्सले खेल शुरू भएको पाँचौं मिनेटमा पहिलो गोल गरिन् । पहिलो गोल खाएको दोस्रो मिनेटमा कपिलवस्तुकी प्रतिमा जर्घामगरले गोल गरि खेल १-१ को बराबरी बनाएकी थिइन् । 

तर संकटाका लागि लुसियाले पहिलो हाफमै ४ गोल गर्न पुगिन् । उनले दोस्रो हाफमा थप ३ गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरेकी थिइन् । 

यसैगरी, संकटाकी अर्कि विदेशी खेलाडी क्विनवेलले ४ गोल गरिन् । संकटाकातर्फबाट खेलको दोस्रो हाफमा ६ गोल भएको थियो । 

खेलमा डबल ह्याट्रिक गर्दै उत्कृष्ट प्रदर्शन गरेकी लुसिया ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । 

यसैगरी, भोलि बुधबार हुने अर्को सेमिफाइनल नेपाल पुलिस क्लब र गत वर्षको विजेता ट्रिनिटी क्लब, वालिङकाबीच हुने छ । पुलिसले हेटौँडा फुटबल एकेडेमीलाई र ट्रिनिटीले पद्मा स्पोर्टस, ओखलढुङ्गालाई हराउँदै सेमिफाइनल पुगेका हुन् ।

प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रूपैयाँ तथा उपविजेताले एक लाख २५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार रूपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रूपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ घोषित खेलाडीले पाँच हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् । 

प्रतियोगिताको फाइनल खेल जेठ २ गते हुने आयोजक संस्था बीस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापाले जनाएका  छन । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्