
फिफा पुरुष विश्वकपको २३औँ संस्करण शुरू हुन करिब एक महिनामात्र बाँकी छ । विश्वकै सर्वाधिक लोकप्रिय खेलको विश्वकपले विस्तारै संसारभरका खेलप्रेमीलाई तताउँदै लगेको छ ।
आगामी विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ । सहभागी टोलीको संख्या पनि बढाएर ४८ पुर्याइएको छ ।
आगामी विश्वकप धेरै अर्थमा विशेष हुनेछ । पहिलोपटक तीनवटा राष्ट्रले संयुक्त रूपमा विश्वकप आयोजना गर्न लागेका हुन् भने ४८ राष्ट्रले सहभागिता जनाउन लागेको पनि पहिलोपटक नै हो ।
यसैगरी, मेक्सिको पुरुष विश्वकप तीनपटक आयोजना गर्ने पहिलो राष्ट्र पनि बन्दैछ । मेक्सिकोले यसअघि सन् १९७० र सन् १९८६ मा विश्वकप आयोजना गरेको थियो ।

केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तानले फिफा पुरुष विश्वकपमा ‘डेब्यू’ गर्दैछन् । कंगो र हाइटी पनि ५२ वर्षपछि विश्वकपमा फर्किएका छन् ।
यसैगरी, इटाली लगातार तीनवटा विश्वकपमा अनुपस्थित हुन पहिलो पूर्वच्याम्पियन बनेको छ । यसअघि, सन् २०१८ र सन् २०२२ को विश्वकपमा पनि इटाली अनुपस्थित थियो । चारपटकको विश्व च्याम्पियन इटालीबाहेक सबै पूर्वविजेता आगामी विश्वकपमा सहभागी हुनेछन् ।
विश्वकै सबैभन्दा वृहत फूटबल मेला शुरू हुन करिब एक महिना बाँकी रहँदा हामीले नियमित रूपमा विश्वकप सम्बन्धी रमाइला सामाग्री पस्कने प्रयासको थालनी गरेका छौँ । यसैक्रममा हामीले पहिलो विश्वकपसँग सम्बन्धित रोचक सामाग्री प्रस्तुत गरेका छौँ :
००

फिफा स्थापनाको २६ वर्षपछि बल्ल विश्वकप
फिफा पुरुष विश्वकपको पहिलो संस्करण सन् १९३० को जुलाई १३ देखि ३० तारिखसम्म उरुग्वेमा आयोजना भएको थियो । पहिलो संस्करण भएकाले यो विश्वकपका क्रममा भएका हरेक घटना आफैमा ऐतिहासिक र कीर्तिमानी हुन् ।
सन् १९०४ मा विश्व फूटबल महासंघ (फिफा)को स्थापना भएदेखि नै निरन्तर रूपमा विश्वकप आयोजनाको चर्चा चल्दै आएको थियो । तर, फिफा स्थापनाको २६ वर्षपछि मात्र विश्वकप फूटबल आयोजनाले मुर्तरूप लियो ।
फिफाले पहिलो विश्वकप आयोजनाको जिम्मा दक्षिण अमेरिकी राष्ट्र उरुग्वेलाई दिनुको पछाडि पनि रोचक कारण छ । सन् १९३० अघि विश्वकप आयोजना नभए पनि ओलम्पिक खेलकुदमा भने फूटबललाई नियमित रूपमा समावेश गरिँदै आएको थियो ।
एकातिर, सन् १९२४ र सन् १९२८ को ओलम्पिकमा उरुग्वेले लगातार फूटबलको स्वर्ण पदक जितेको थियो भने अर्कोतिर, उरुग्वेले देशको पहिलो संविधानको शतवार्षिक मनाउँदै थियो ।
यही कारणले फिफाले उरुग्वेलाई विश्वकपको पहिलो संस्करण आयोजनाको जिम्मा दिएको थियो । पहिलो विश्वकपका सबै खेल राजधानी मोन्टेभिडियोमै खेलाइएको थियो ।
००

विश्वव्यापी आर्थिक महामन्दीको मार
पहिलो विश्वकपमा दक्षिण अमेरिकाका सात, युरोपका चार र उत्तर अमेरिकाका दुई गरी १३ राष्ट्रले सहभागिता जनाएका थिए । जबकी दुई वर्षअघि आयोजित गृष्मकालीन ओलम्पिकको फूटबलमा १७ राष्ट्रले भाग लिएका थिए ।
पहिलो विश्वकपसँग अर्को रमाइलो संयोग पनि जोडिएको छ । विश्वकपको इतिहासमा यो एकमात्र संस्करण हो जसमा छनोट प्रतियोगिता नै आयोजना नगरी टोलीहरूलाई सिधै फाइनल चरणमा समावेश गराइएको थियो ।
विश्वव्यापी भीषण आर्थिकमन्दी र यातायातको कठिनाइका कारण युरोपका अधिकांश राष्ट्रले पहिलो विश्वकपमा भाग लिने चासो देखाएका थिएनन् । जहाजबाट एट्लान्टिक महासागर पार गर्दै निकै लामो यात्रापछि आयोजनास्थलसम्म पुग्नु निकै खर्चिलो थियो ।
त्यसैले, फिफाले दिएको समय सन् १९३० को फेब्रुअरी २८ भित्र कुनै पनि युरोपेली राष्ट्रले भाग लिने चासो देखाएनन् । त्यसपछि फिफा र उरुग्वेको राष्ट्रिय फूटबल संघले युरोपेली राष्ट्रलाई फकाउन थप प्रयास अगाडि बढाउनु पर्यो ।
अन्तत: विश्वकप शुरू हुनुभन्दा दुई महिनाअघि मात्र चारवटा युरोपेली राष्ट्रको सहभागिता पक्का भयो । युरोपबाट बेल्जियम, फ्रान्स, रोमानिया र युगोल्साभियाले मात्र सहभागिता जनाएका थिए । यी चार टोलीका लागि पनि फिफाद्वारा समुद्री यात्राको विशेष व्यवस्था गरिएको थियो ।
यसैगरी, उत्तर अमेरिकाबाट अमेरिका र मेक्सिकोले भाग लिएका थिए । दक्षिण अमेरिकाबाट भने अर्जेन्टिना, ब्राजिल, उरुग्वे, बोलिभिया, चिली, पाराग्वे र पेरुले पहिलो विश्वकपमा सहभागिता जनाएका थिए ।

००
फिफाबाट इङ्ल्यान्डसहित चार राष्ट्रको राजीनामा
थुप्रै प्रतिकूल परिस्थितिबीच पहिलो विश्वकप आयोजना भएको थियो भन्दा फरक पर्दैन । विश्वकप शुरू हुनुअघि विभिन्न विषयमा असन्तुष्टि जनाउँदै इङ्ल्यान्ड, उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड र वेल्सले फिफाको सदस्यताबाट राजीनामा दिएका थिए ।
००
जापान र थाइल्यान्डले भाग लिनै चाहेनन्
त्यतिबेला एसियाबाट जापान र सियाम (हालको थाइल्यान्ड) फिफामा आबद्ध थिए । तर, पहिलो विश्वकपमा सहभागी हुन फिफाले पठाएको निम्तोलाई यी दुवै राष्ट्रले अस्वीकार गरेका थिए । यसको पछाडि पनि आर्थिकमन्दी र यातायातको कठिनाइ नै प्रमुख कारण थियो ।
००

भूमध्यसागरको भीषण आँधीबेहरीले इजिप्टको बाटो रोक्यो
अफ्रिकाबाट इजिप्टले सहभागिता जनाउने पक्का भएको थियो । तर, अन्तिम समयमा भीषण आँधीबेहरीका कारण इजिप्टको टोली निर्धारित समयमा उरुग्वेसम्म पुग्नै सकेन ।
भूमध्यसागरमा आएको भीषण आँधीबेहरीले उनीहरूको बाटो रोक्यो । त्यसैले इजिप्टको खेल टोलीलाई ल्याउन पठाइएको जहाज रित्तै फर्कनु परेको थियो ।
००
रोमानियाका राजा आफैंले बनाएका थिए विश्वकप टोली
अन्तिम समयसम्म रोमानियाले पनि विश्वकपमा भाग लिने पक्का थिएन । त्यतिबेला क्यारोल द्वितीय भर्खर रोमानियाको राजा बनेका थिए । फिफाले निरन्तर आग्रह गरेपछि रोमानियाका राजा आफैंले विश्वकपमा सहभागिताका लागि सक्रियता बढाएका थिए ।
राजा क्यारोलले आफ्नै पहलमा विश्वकपमा भाग लिने टोली चयन गरेका थिए । यतिमात्र होइन, उनले विश्वकपमा भाग लिएर फर्किएपछि खेल टोलीका सबै सदस्यलाई जागिर दिने वाचा पनि गरेका थिए ।
००

फ्रान्सेली डिफेन्डर र प्रशिक्षक त उरुग्वे जानै मानेनन्
अर्कोतिर, फ्रान्स पनि विश्वकपमा सहभागी हुन तयार थिएन । त्यतिबेला जुल्स रिमेट फिफाका अध्यक्ष थिए । उनकै सक्रियतामा विश्वकप आयोजनाले मूर्तरूप लिँदै थियो । उनी आफैं पनि फ्रान्सेली नागरिक थिए ।
फ्रान्सलाई पहिलो विश्वकप खेलाउन उनले निकै परिश्रम गरे । अन्तत: उनकै प्रयासमा फ्रान्स विश्वकपमा सहभागी हुने भयो । तर, जति आग्रह गर्दा पनि फ्रान्सका स्टार डिफेन्डर म्यानुअल एनाटोल र टोलीका नियमित प्रशिक्षक ग्यास्टन बरेस उरुग्वे जान तयार भएनन् ।

००
बेल्जियमलाई फकाउन सिल्ड्रेयर्सको प्रयोग
यसैगरी, पहिलो विश्वकपमा बेल्जियमको सहभागिताको प्रसंग पनि रमाइलो छ । त्यतिबेला रोडोल्फ सिल्ड्रेयर्स फिफाका उपाध्यक्ष थिए । शुरूमा फिफाले निम्तो पठाउँदा बेल्जियमले विश्वकप खेल्न चासो देखाएन ।
त्यसपछि फिफाले बेल्जियमलाई मनाउने जिम्मा उपाध्यक्ष सिल्ड्रेयर्सलाई दियो । खासमा, सिल्ड्रेयर्स जर्मन–बेल्जियन नागरिक थिए । बेल्जियमको खेलकुद विकासमा उनले महत्त्वपूर्ण योगदान पनि गरेका थिए । उनकै निरन्तरको प्रयासमा अन्तत: बेल्जियम पनि विश्वकप खेल्न तयार भएको थियो । पछि उनी फिफाको अध्यक्ष पनि बनेका थिए ।
यतिमात्र होइन, विश्वकपमा सहभागी हुने टोलीहरूले उरुग्वे पुग्नसमेत निकै सास्ती ब्यहोर्नु परेको थियो । ब्राजिलियन टोली लामो समय रियो दि जेनेरियोमा डुङ्गामै फसेको थियो । फ्रान्सेली टोलीले पनि यस्तै नियती भोग्नु परेको थियो ।
००
चार समूहमा विभाजित थिए टोलीहरू
पहिलो विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा चार र बाँकी तीन समूहमा तीन–तीन टोली थिए । प्रत्येक समूहबाट एक–एक टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान थियो । सेमिफाइनलमा पुग्ने चारवटै टोलीले समूह चरणको सबै खेल जितेका थिए ।
सोही अनुरूप, समूह ‘ए’बाट अर्जेन्टिना, समूह ‘बी’बाट युगोस्लाभिया, समूह ‘सी’बाट उरुग्वे र समूह ‘डी’बाट अमेरिका सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा अर्जेन्टिनाले अमेरिकालाई ६–१ र उरुग्वेले युगोस्लाभियालाई ६–१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेका थिए ।
००
जब फाइनलमा ओलम्पिककै इतिहास दोहोरियो
दुई वर्षअघि आयोजित गृष्कालीन ओलम्पिकको फूटबलमा पनि उरुग्वे र अर्जेन्टिनाबीच नै उपाधि भिडन्त भएको थियो । त्यतिबेला ओलम्पिकको फाइनलमा अर्जेन्टिनालाई हराउँदै उरुग्वेले उपाधि जितेको थियो ।

ठीक त्यही इतिहास पहिलो विश्वकपको फाइनलमा पनि दोहोरियो । फाइनलमा अर्जेन्टिनलाई ४–२ गोलले हराउँदै आयोजक उरुग्वे विश्वकप फूटबलको पहिलो च्याम्पियन बन्यो । फाइनलमा उरुग्वेका लागि पाब्लो डोराडो, जोसे पेड्रो सिआ उरिजा, भिक्टोरियानो सान्तोस इरिआर्टे र अगस्टिन हेक्टर क्यास्ट्रोले गोल गरे ।

अर्जेन्टिनाका लागि भने कार्लोस प्युसेल र गुइलेर्मो स्टेबिलले मात्र गोल गर्न सके ।

यसरी उरुग्वेले विश्वकप फूटबलको इतिहासमा पहिलो आयोजक र पहिलो च्याम्पियन बनेर इतिहास रच्यो ।

००
इतिहास रचे फ्रान्सका लरेन्ट र अमेरिकाका डगलसले
विश्वकप फूटबलको इतिहासमा गोल गर्ने पहिलो खेलाडी फ्रान्सका लुसियन लरेन्ट हुन् । समूहगत चरणको फ्रान्स र मेक्सिको बीचको खेलमा उनले गोल गरेका थिए । उनले खेल शुरू भएको १९औँ मिनेटमै गोल गरेका थिए ।
यसैगरी, विश्वकपको इतिहासमा दोस्रो र तेस्रो गोल गर्ने खेलाडी पनि फ्रान्सेली नै हुन् । सोही खेलको ४०औँ मिनेटमा फ्रान्सका मार्सल ल्याङ्गिलरले र ४३औँ मिनेटमा फ्रान्सकै आन्द्रे मास्चिनोटले गोल गरेका थिए । उक्त खेलमा फ्रान्सले मेक्सिकोलाई ४–१ गोलले हराएको थियो ।
यसैगरी, विश्वकपको इतिहासमा एक गोल पनि नखाने पहिलो गोलरक्षक भने अमेरिकाका जिमी डगलस हुन् । उनले पहिलो विश्वकपको पहिलो दिन नै खेलिएको बेल्जियमविरुद्धको खेलमा एक गोल पनि खाएका थिएनन् । उक्त खेलमा अमेरिकाले बेल्जियमलाई ३–० गोलले हराएको थियो ।
००

कीर्तिमान बनाएका अमेरिकी खेलाडी बर्ट आर्थर
अमेरिकाका बर्ट आर्थरले पनि पहिलो विश्वकपमा इतिहास रचे । उनी विश्वकपको इतिहासमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । जुलाई १७ तारिखमा खेलिएको पाराग्वेविरुद्धको खेलमा उनले १०औँ, १५औँ र ५०औँ मिनेटमा गोल गरेका थिए ।
त्यसको दुई दिनपछि जुलाई १९ तारिखमा खेलिएको मेक्सिकोविरुद्धको खेलमा अर्जेन्टिनाका गुइलेर्मो स्टेबिलले पनि ह्याट्रिक गरेका थिए । उनी विश्वकपको इतिहासमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । उनले निर्धारित समयको आठौँ, १७औँ र ८०औँ मिनेटमा गोल गरेका थिए ।
यसैगरी, जुलाई २७ तारिखमा खेलिएको युगोस्लाभियाविरुद्धको खेलमा उरुग्वेका जोसे पेड्रो सिआ उरिजाले पनि ह्याट्रिक गर्न भ्याए । उनी विश्वकपको इतिहासमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बने । उनले १८औँ, ६७औँ र ७२औँ मिनेटमा गोल गरेका थिए ।
००
आठ गोल गरेर पनि खुसी हुन नसकेका गुइलेर्मो स्टेबिल
पहिलो विश्वकपमा कुल १८ खेल खेलिएको थियो । त्यसमा कुल ७० गोल भएको थियो । अर्जेन्टिनाका गुइलेर्मो स्टेबिल एक्लैले आठ गोल गरे । पहिलो विश्वकपको सर्वाधिक गोलकर्ता बने पनि आफ्नो टोली फाइनलमा पराजित भएकाले उनले मन खोलेर खुशियाली मनाउन सकेनन् ।
उरुग्वेका जोसे पेड्रो सिआ उरिजा दोस्रो सर्वाधिक गोल गर्ने खेलाडी बने । टोलीलाई च्याम्पियन बनाउने क्रममा उनी एक्लैले पाँच गोल गरेका थिए । अमेरिकाका बर्ट आर्थर पेटेनाउडले चार गोल गरे ।
००

पहिलो विश्वकपका अन्य रोचक प्रसंग
० अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा उरुग्वेका लागि अन्तिम गोल गर्ने खेलाडी हेक्टर क्यास्ट्रोको एउटा हात नै थिएन ।
० रोमानिया र पेरुबीचको खेलमा केवल तीन सय दर्शक उपस्थिति थिए । विश्वकपको इतिहासमा यो नै सर्वाधिक कम दर्शकको कीर्तिमान हो ।
० विजेतालाई दिन तयार पारिएको ट्रफी केवल ३५ सेन्टिमिटर अग्लो थियो । शुद्ध सुनको प्रयोग गरेर बनाइएको ट्रफीको तौल चार केजी थियो ।
० पेरुका प्लासिडो गालिन्डो खराब खेल खेलेका कारण सजाय पाएर मैदान छाड्ने पहिलो खेलाडी बनेका थिए ।
० अमेरिका र रोमानियाको टोलीमा अधिकांश स्कटल्यान्डका खेलाडी थिए । जबकि स्कटल्यान्डले भने विश्वकपमा भाग लिन अस्वीकार गरेको थियो ।
० फिफा पुरुष विश्वकपको इतिहासमा पहिलोपटक तेस्रो स्थानका लागि खेल खेलाइएन । अमेरिका र युगोस्लाभियाबीच तेस्रो स्थानका लागि खेल खेलाइनुपर्ने थियो ।
० विश्वकपको इतिहासमा मेक्सिकाको डिफेन्डर म्यानुयल रोसस आत्मघाती गोल गर्ने पहिलो खेलाडी बने । उनले चिलीविरुद्धको खेलमा आत्मघाति गोल गरेका थिए ।
००

कोही जीवित छैनन् पहिलो विश्वकप खेल्ने खेलाडी, सबैप्रति हार्दिक श्रद्धाञ्जली
समयले कोल्टे फेरेको छ । पहिलो विश्वकप आयोजना भएको पनि ९६ वर्ष पुगिसकेको छ । १३ टोलीबाट शुरू भएको विश्वकप यात्रा २३औँ संस्करणसम्म आइपुग्दा ४८ टोलीमा विस्तार पनि भइसकेको छ ।
पहिलो विश्वकप खेल्ने कुनै पनि खेलाडी आज हामीमाझ छैनन् । तर, पहिलो विश्वकप खेल्ने ती सबै खेलाडी ऐतिहासिक पात्र हुन् । उनीहरूले बसाएको जगमा उभिएर नै आज विश्व फूटबलले आफ्ना विशाल साम्राज्य खडा गर्न सम्भव भएको हो ।
जब–जब हामी विश्वकपको संघारमा उभिन्छौँ ती सबै महान खेलाडी हाम्रो मानसपटलमा ताजा भएर उभिने छन् । सन् २०१० को अगस्त ३० तारिखमा चर्चित अर्जेन्टिनी फूटबलर फ्रान्सिस्को भारालोको एक सय वर्षको उमेरमा निधन भयो ।
त्यतिबेलासम्म उनी पहिलो विश्वकप खेल्ने एकमात्र जीवित खेलाडी थिए । उनले पहिलो विश्वकपमा एक गोल पनि गरेका थिए । उनले समूहगत चरणमा मेक्सिकोविरुद्ध ५३औँ मिनेटमा गोल गरेका थिए । उनी पहिलो विश्वकपको सबैभन्दा युवा खेलाडी पनि थिए ।
यतिबेला संसारभरीका फूटबलप्रेमीले २३औँ विश्वकपको प्रतीक्षा गरिरहँदा हामी पहिलो विश्वकप खेल्ने सम्पूर्ण महान खेलाडीहरूप्रति भावपूर्ण श्रृद्धाञ्जली अर्पण गर्न चाहन्छौं ।


























