२६ जेठ २०८३, मंगलबार
आकाशे पुलमै साइकल सरर

नेपालकै पहिलो आकाशे पुल- जहाँ बन्दैछ साइकलका लागि छुट्टाछुट्टै लेन

जेठ १, २०८३
काठमाडौं

सवारी आवागमन भइरहने सडकमा पैदलयात्रुलाई बाटो काट्नका लागि जेब्राक्रस र आकोश पुल हुन्छन्  । तर, साइकलयात्रीलाई बाटो काट्नका लागि छुट्टै व्यवस्था भएको देख्नुभएको छ ? पक्कै पनि देख्नुभएको छैन । 

साइकलयात्रीहरू पनि त्यही जेब्राक्रसमा साइकल डोर्‍याउँदै बाटो काटिरहेका हुन्छन् । 

के होला यदि साइकलयात्रीका लागि पनि आकोश पुल बनाइयो भने ? कस्तो होला साइकल चलाउनेहरूले जेब्राक्रसिङमा ओर्लिएर बाटो काट्नुभन्दा साइकल चलाएरै आकाशे पुलबाट बाटो काट्न पाए भने ?

कहिल्यै यस्तो कल्पना गर्नुभएको छ ? अब यो कल्पना वास्तविकतामा बदलिनेवाला छ । ललितपुर महानगरपालिकाले नेपालमै पहिलो पटक यस्तो आकाशे पुल बनाउँदै छ, जहाँ पैदलयात्री मात्र होइन, साइकल पनि सरर गुड्नेछन् ।

ललितपुर महानगरपालिकाले कुसुन्तीमा लिफ्टसहितको पुल बनाएर त अचम्म पारिसक्यो, अब पालो धोबिघाटको यो ‘साइकल ब्रिज’को !

महानगरपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने धोबिघाट–रिङरोड दमकल सुन्दरीघाट मार्गमा यो पुल निर्माण भइरहेको छ । 

कूल ४ करोड ६ लाख ६२ हजार रूपैयाँमा लागतमा लामा प्रगति-मनि बुद्ध जेभी काभ्रेपलाञ्चोकसँग यो पुल निर्माणको सम्झौता भएको छ । गत असोज अन्तिम साता यसको शिलन्यास गरी काम अगाडि बढाइसकिएको छ । 

२० फिटको यो आकाशे पुलमा चढ्न दुईवटा बाटो हुनेछन् ।  एउटा खुड्किलो भएको सिँढी जुन सबैले देखिसकेका छौं, र अर्को साइकलका लागि ९ डिग्रीको सम्म परेको विशेष ‘स्लोप’ ।

यसको मुख्य संरचना फलामको हुनेछ भने आधार पक्की कंक्रिटको ।

यस पुलमा ९ डिग्रीको स्लोप राखिएको छ । यो ९ डिग्री भनेको साइकलयात्रीलाई धेरै बल लगाउनु नपर्ने र ओरालो झर्दा पनि नियन्त्रण बाहिर नजाने ‘आइडियल’ कोण हो ।

ल्यान्डिङ ललितपुरको प्रोजेक्टमा भनिए झैँ, बिच–बिचमा समथल भाग राखिन्छ । यसले साइकलयात्रीलाई उकालो चढ्दा थकाई लागेमा थोरै सुस्ताउन वा गति नियन्त्रण गर्न मद्दत गर्छ ।

छुट्टाछुट्टै लेन पनि हुनेछन् । पुलमा पैदल यात्री र साइकलका लागि छुट्टाछुट्टै लेन हुनेछ । यसले गर्दा हिँड्ने मानिस र साइकलबीच ठक्कर लाग्ने डर हुँदैन । 

धोबिघाटको यो पुलमा पनि दुई विकल्प (सिँढी र स्लोप) राखिनुको कारण यही हो । पुलको भूइँमा विशेष प्रकारको ‘एन्टी–स्लिप’ पेन्ट वा कोटिङ गरिएको हुन्छ, ताकि पानी पर्दा पनि साइकलको पाङ्ग्रा नचप्लियोस् । यसका साथै रातिको समयमा पनि एलईडी लाइटले पुललाई सजाउने योजना छ ।

अपाङ्गमैत्री, वातावरणमैत्री र पूर्ण रूपमा आधुनिक हुनेछ । यो पुल बनेपछि धोबिघाटको स्वरूप मात्र फेरिने छैन, यसले नेपाललाई आधुनिक शहरको सूचीमा एक कदम अगाडि पुर्‍याउनेछ भन्ने अपेक्षा गरिएको छ । 

के तपाईं आफ्नो साइकल लिएर यो पुल चढ्न तयार हुनुहुन्छ ? अब छिट्टै यो पुलबाट सर्वसाधारणले साइकल चलाएर लैजान पाउनेछन् ।

हेर्नुहोस् भिडियो सामग्री : 

 

salt training

कमेन्ट गर्नुहोस्