२६ जेठ २०८३, मंगलबार

कीर्तिमानी स्रष्टा डीआर उपाध्यायको नयाँ कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण

जेठ ४, २०८३
काठमाडौं
कीर्तिमानी स्रष्टा डीआर उपाध्यायको नयाँ कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण

काठमाडौंको साहित्यिक वातावरण आइतबार शब्द, संवेदना र सिर्जनशीलताको अनुपम संगमले आलोकित बन्यो । नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक १५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको नवीन कवितासंग्रह ‘अन्तस्करण’ काठमाडौंमा एक भव्य समारोहबीच लोकार्पण गरियो । 

साहित्यिक पत्रकारसंघ र मिलाप मासिकको संयुक्त आयोजनामा सम्पन्न समारोह केवल पुस्तक विमोचनको औपचारिक कार्यक्रममा सीमित रहेन, बरु समकालीन नेपाली साहित्यको भावधारामाथि गम्भीर विमर्श र संवेदनशील संवादको सशक्त मञ्चका रूपमा स्थापित भयो ।

सभाहलमा उपस्थित साहित्यकार, राजनीतिज्ञ, इतिहासविद्, गीतकार, कलाकार तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई विशिष्ट गरिमा प्रदान गरेको थियो । कार्यक्रमका प्रत्येक क्षणमा साहित्यप्रतिको सम्मान, सिर्जनाप्रतिको अनुराग र समाजप्रतिको उत्तरदायित्वको अनुभूति स्पष्ट देखिन्थ्यो ।

कार्यक्रमका सभाध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकाली तथा प्रमुख अतिथि सांसद राजिव खत्री रहेका थिए । समारोहमा पूर्वसांसद तथा कवि रेखा यादव, वरिष्ठ इतिहासविद् सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्व अध्यक्ष चूडामणि देवकोटा, खनाल सेवा समाजका महासचिव माधव खनाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय सदस्य तारा उप्रेति, मिलापका अध्यक्ष कृष्ण भुसाल तथा नरेश भट्टराईलगायत मञ्चासिन व्यक्तित्वहरू र अग्रभागमा रहनुभएका अथितिहरूले उक्त कृतिको लोकार्पण गरेका थिए । 

सामूहिक रूपमा लोकार्पण गरिएको ‘अन्तस्करण’लाई वक्ताहरूले समकालीन नेपाली समाजको भावनात्मक दस्तावेजको रूपमा व्याख्या गरेका थिए । उनीहरूको भनाइमा, डा. उपाध्यायले यस कृतिमार्फत समयको बेचैनी, मानवीय सम्बन्धको जटिलता, सामाजिक यथार्थ, प्रेम, संघर्ष, आशा, आत्मसंवाद तथा जीवनका सूक्ष्म अनुभूतिहरूलाई अत्यन्त कलात्मक र संवेदनशील ढंगले अभिव्यक्त गरे । कविताहरू केवल भावनाका अभिव्यक्ति नभई समाज र समयसँगको गहिरो संवादका रूपमा प्रस्तुत भएको वक्ताहरूको धारणा थियो ।

सांसद राजिव खत्रीले डा. उपाध्याय नेपाली साहित्य, संगीत र सिर्जनात्मक क्षेत्रका अथक साधक भएको उल्लेख गर्दै उनका सिर्जनामा जीवनका बहुआयामिक अनुभूतिहरू मुखरित हुने बताए । उनले भने, ‘डा. उपाध्यायको लेखन केवल शब्दहरूको संयोजन होइन, समाजप्रतिको जिम्मेवारीबोध र मानवीय चेतनाको गहिरो अभिव्यक्ति हो ।’ कार्यक्रममा उनले संग्रहभित्रको एक कविता वाचन गर्दा सभाहल केही समय साहित्यिक भावनाले पूर्णतः मन्त्रमुग्ध बनेको थियो ।

समारोहमा अधिकांश वक्ताहरूले डा. उपाध्यायको बहुआयामिक प्रतिभाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । १५३ विश्व कीर्तिमान कायम गरेर नेपालको सिर्जनात्मक क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएको उल्लेख गर्दै उनलाई नेपाली सर्जनात्मक क्षेत्रको ऊर्जाशील, अनुकरणीय र प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रित गरिएको थियो ।

null

कवितासंग्रहको भावभूमिलाई थप सजीव बनाउने क्रममा कविद्वय सुमन थापा संगम र शोभा अधिकारीले संग्रहबाट एक–एक कविता वाचन गर्नुभएको थियो । कविता वाचनका क्रममा उपस्थित श्रोताहरू भावुक र गम्भीर बनेका देखिन्थे । कविताका हरफहरूमा धेरैले आफ्नै समय, समाज र व्यक्तिगत अनुभूतिहरूको प्रतिबिम्ब अनुभव गरेका थिए ।

कार्यक्रममा ‘अन्तस्करण’ को भूमिका लेने वरिष्ठ साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल तथा स्रष्टा डा. डीआर उपाध्यायलाई विशेष सम्मान प्रदान गरिएको थियो । साथै प्रमुख अतिथि सांसद राजिव खत्रीलाई पनि बधाई तथा सम्मान अर्पण गरिएको थियो । सम्मान समारोहले कार्यक्रममा थप गरिमा र आत्मीयता थपेको अनुभूति गरिएको थियो ।

आफ्नो मन्तव्यका क्रममा स्रष्टा डा. डीआर उपाध्यायले साहित्य आत्माको आवाज भएको उल्लेख गर्दै ‘अन्तस्करण’ आफ्ना अनुभूति, भोगाइ, संघर्ष र समाजप्रतिको संवेदनशील दृष्टिको अभिव्यक्ति भएको बताए । उनले सिर्जनाले मानिसलाई अझ मानवीय बनाउने विश्वास व्यक्त गर्दै साहित्य समाजलाई जोड्ने सबैभन्दा सुन्दर माध्यम भएको धारणा राखे ।

समापन मन्तव्य राख्दै सभाध्यक्ष राधेश्याम लेकालीले डा. उपाध्यायको व्यक्तित्व र कृतित्व नेपाली साहित्यका लागि महत्वपूर्ण प्रेरणाको स्रोत भएको उल्लेख गरे । उनले ‘अन्तस्करण’ नेपाली कविताको समकालीन यात्रामा एउटा अर्थपूर्ण कृतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

मिलाप पब्लिकेशनद्वारा प्रकाशित २९९ पृष्ठको कवितासंग्रहमा ७९ वटा कविता समावेश छन् । जीवन, समाज, समय र संवेदनाको गहिरो संवाद बोकेको ‘अन्तस्करण’ले नेपाली पाठकमाझ नयाँ चेतना, आत्मअनुभूति र साहित्यिक बहसको वातावरण सिर्जना गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् । 

डा. उपाध्यायका यसअघि १७ उपन्यास, तीन गीति पुस्तक, २५० जति गीत र १५० जति गीतका भिडियो सार्वजनिक भएका छन् । उनले गीत संगीत र विविध विधामा १५३ विश्व रेकर्ड कायम गरेका छन् । मिलापका अध्यक्ष कृष्ण भुसालले स्वागत मन्तव्य राखेको ‘अन्तस्करण’ लोकार्पण समारोहमा एक सय हाराहारीमा विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्