
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी संविधानको रक्षार्थ अघि बढ्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा सोमबार आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले अहिले कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी संविधानको रक्षा मात्रै गर्नु रहेको बताए ।
'वर्तमान समयमा कांग्रेसको मुख्य जिम्मेवारी संविधानको रक्षा गर्नु रहेको छ,' सभापति थापाले भने । सभापति थापाले मुलुकमा वर्तमान प्रमुख चुनौती आर्थिक सङ्कट रहेको उल्लेख गर्दै महँगीले नागरिकको ‘खल्ती र भान्सा’ दुवै प्रभावित भएको बताए ।
'नेपालका बैंकमा पर्याप्त रकम भए पनि लगानी हुन सकेको छैन, सानाठूला व्यवसायी ऋण तिर्न नसकेर भाग्ने अवस्थामा छन् र किसानसमेत समस्यामा परेको वर्तमान अवस्थामा सरकारले अब राजनीतिक विवादभन्दा पनि अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्छ,' सभापति थापाले भने।
सभापति थापाले फरक प्रसङ्गमा कांग्रेस पार्टीभित्रको गुटबन्दी र सार्वजनिक विवादप्रति असन्तुष्टि जनाउँदै यसले कांग्रेसको छवि क्रमशः कमजोर बनाउँदै गएको बताए ।
आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई मात्र लक्ष्य नबनाई राष्ट्र, लोकतन्त्र र नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न उनले प्रदेशका नेताकार्यकर्तालाई निर्देशनसमेत दिए ।