राजधानीका खोलानालाबाट निकालिएको माटो तथा नदीजन्य फोहोर बोकेका टिप्परहरू अहिले दक्षिणकालीतर्फ लगातार दौडिरहेका छन् । ती टिप्परले खन्याएको सामग्री डोजरमार्फत सम्याउने काम पनि तीव्र गतिमा भइरहेको छ ।
खन्याइएका सामग्री काठमाडौंका नदी तथा खोला–नालाबाट निकालिएको माटो, डेभरेज र निर्माणजन्य फोहोर हुन् । यी सामग्री दक्षिणकाली नगरपालिका वडा नं. ७ मा रहेको एउटा ठूलो खोचमा व्यवस्थापन गरिँदैछ ।
सरकारी योजना भने यसलाई सामान्य फोहोर व्यवस्थापनमा सीमित राख्ने छैन । दीर्घकालीन लक्ष्य छ– यही खोचलाई भविष्यमा अत्याधुनिक क्रिकेट स्टेडियममा रूपान्तरण गर्ने ।
यो योजनासँग अर्को महत्वपूर्ण उद्देश्य पनि जोडिएको छ । बर्खायाममा बाढी र जमावटका कारण हैरान बनेका काठमाडौंका नदी तथा खोलाहरू खोतल्ने तथा त्यहाँ जम्मा भएको डेभरेज व्यवस्थापन गर्ने लक्ष्य महानगरपालिकाले राखेको छ ।
काठमाडौं महानगरपालिकाले वातावरण संरक्षण, नदी सफाइ, डेभरेज व्यवस्थापन र पूर्वाधार विकासलाई एउटै परियोजनामा जोड्दै यो महत्वाकांक्षी योजना अघि बढाएको जनाएको छ ।
दक्षिणकाली नगरपालिका वडा नं. ७ मा रहेको उक्त खोच अहिले दैनिक व्यस्त देखिन्छ ।
महानगरका अनुसार १५ भन्दा बढी ट्रक तथा टिप्पर नियमित रूपमा ओहोरदोहोर गरिरहेका छन् ।
ती साधनमार्फत काठमाडौंका विभिन्न नदी तथा खोला–नालाबाट निकालिएको डेभरेज ढुवानी गरेर खोच पुर्ने काम भइरहेको छ ।
महानगरले अहिले बाग्मती नदी मात्रै होइन, काठमाडौंका अन्य नदी तथा खोलामा पनि सफाइ अभियान तीव्र बनाएको छ ।
वर्षौंदेखि थुप्रिएको माटो, लेदो, प्लास्टिकजन्य फोहोर तथा जमिनमुनि थिग्रिएका पदार्थ निकालेर दक्षिणकाली लगिँदैछ ।
वालेन्द्र शाहको अवधारणा
यो योजनाको प्रारम्भिक अवधारणा अहिलेका प्रधानमन्त्री तथा तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहले अघि सारेका थिए ।
करिब दुई वर्षअघि शाह छाडा चौपाया व्यवस्थापनका लागि उपयुक्त स्थान खोज्दै दक्षिणकाली पुगेका थिए । त्यसक्रममा उनले वडा नं. ७ मा रहेको ठूलो खोचको अवलोकन गरेका थिए ।
त्यसपछि उक्त स्थानलाई दीर्घकालीन विकास योजनासँग जोड्ने अवधारणा अघि सारिएको थियो ।
त्यसयता काठमाडौं महानगरपालिका र दक्षिणकाली नगरपालिकाबीच विभिन्न चरणमा छलफल तथा समन्वय हुँदै आएको थियो ।
यसपटक भने विस्तृत सम्भाव्यता अध्ययन, भू–सर्वेक्षण तथा प्राविधिक मूल्यांकनपछि काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गरेर औपचारिक रूपमा काम शुरू गरेको जनाएको छ ।
सुरक्षात्मक संरचना निर्माण हुँदै
महानगरका अनुसार खोचलाई सुरक्षित ढंगले पुर्न सुरक्षात्मक संरचना निर्माणको काम पनि सँगसँगै भइरहेको छ ।
भरेको डेभरेज वर्षायाममा बाढीसँगै बग्न नदिन खोल्साको किनारमा पर्खाल लगाउने, तारजाली राख्ने तथा अन्य संरक्षण संरचना निर्माण गर्ने काम भइरहेको बताइएको छ ।
काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्था विभागका वरिष्ठ इञ्जिनियर रामप्रसाद नेपालका अनुसार परियोजनाले दुईवटा प्रमुख समस्या समाधान गर्ने लक्ष्य राखेको छ ।
उनका अनुसार एकातिर काठमाडौंका नदी तथा खोलामा थुप्रिएको डेभरेज र निर्माणजन्य फोहोर व्यवस्थापन हुनेछ भने अर्कोतर्फ दक्षिणकालीको जोखिमपूर्ण खोचलाई सुरक्षित समथर भूमिमा रूपान्तरण गरेर क्रिकेट स्टेडियम निर्माण गरिनेछ ।
नेपालका अनुसार प्रारम्भिक चरणमा भूमि विकासका लागि डेढ करोड रुपैयाँ र ढुवानी व्यवस्थापनका लागि एक करोड रुपैयाँ छुट्याइएको छ ।
महानगरको ‘स्वर्णिम योजना’ अन्तर्गत निर्माणजन्य फोहोरलाई पनि व्यवस्थित रूपमा यही क्षेत्रमा ल्याएर व्यवस्थापन गर्ने तयारी गरिएको उनले बताएका छन् ।
३ लाख घनमिटर सामग्री आवश्यक
सम्भाव्यता अध्ययनअनुसार उक्त खोच पूर्ण रूपमा भरिन करिब ३ लाख घनमिटर माटो तथा डेभरेज आवश्यक पर्ने देखिएको छ ।
यो प्रक्रिया पूरा भएपछि ‘क्यापिङ’ प्रविधिबाट जमिनलाई सुरक्षित बनाइनेछ । त्यसपछि आधुनिक क्रिकेट स्टेडियम निर्माण गरिने योजना रहेको महानगरले जनाएको छ ।
वरिष्ठ इञ्जिनियर नेपालका अनुसार स्टेडियम निर्माण सम्पन्न भएपछि उक्त संरचना दक्षिणकाली नगरपालिकालाई हस्तान्तरण गरिनेछ ।
महानगरले यो परियोजनाका लागि पाँच वर्षे योजना बनाएको छ । भूमि विकास, सुरक्षात्मक संरचना तथा सञ्चालन खर्चसहित करिब १० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
डेभरेज व्यवस्थापनको दीर्घकालीन समाधान खोजी
काठमाडौंका नदी तथा खोलामा ढल मिसिने समस्या पुरानै हो । ढल मिसिएपछि खोलाहरू दुर्गन्धित बन्दै गएका छन् ।
नदी सफाइ गर्दा निस्किने डेभरेज फाल्ने उपयुक्त स्थानको अभावमा महानगरले लामो समयदेखि समस्या भोग्दै आएको थियो । महानगरका अनुसार यही समस्याको दीर्घकालीन समाधान खोज्ने क्रममा दक्षिणकालीको खोच उपयोग गर्ने योजना अघि बढाइएको हो ।
उता दक्षिणकाली नगरपालिका वडा नं. ७ का वडाध्यक्ष हरिप्रसाद तिमल्सेनाले पनि योजना स्थानीयसँगको सहमतिमै अघि बढाइएको बताएका छन् ।
उनका अनुसार वडा तथा स्थानीय बासिन्दासँग छलफल गरेर मात्रै परियोजना शुरू गरिएको हो ।
खोल्सालाई सुरक्षित बनाउने, जमिन समथर बनाउने तथा भविष्यमा खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताएका छन् ।
तिमल्सेनाका अनुसार बहुवर्षीय योजना अन्तर्गत ८ करोड ५० लाख रुपैयाँ बराबरको टेन्डर प्रक्रिया अघि बढ्ने तयारीमा छ । हाल प्रारम्भिक चरणमा १ करोड रुपैयाँ बराबरको काम भइरहेको उनले जानकारी दिएका छन् ।
उनले डेभरेज हालेर खोच भरिसकेपछि आधुनिक क्रिकेट स्टेडियम निर्माणका लागि डीपीआर अर्थात् विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने गरी काम पनि शुरू भइसकेको बताए ।
काठमाडौं महानगरपालिका र दक्षिणकाली नगरपालिकाबीचको सहकार्यमा अघि बढिरहेको यो परियोजनाले वातावरण संरक्षण, नदी सफाइ, फोहोर व्यवस्थापन तथा खेलकुद पूर्वाधार विकासलाई एउटै योजनामा जोडेको छ ।
योजना अनुसार काम सम्पन्न भए केही वर्षपछि अहिलेको खोच आधुनिक क्रिकेट मैदानका रूपमा रूपान्तरण हुने अपेक्षा गरिएको छ ।
हेर्नुहोस्, भिडियो: