
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट (बढी निगरानीमा राखिएको मुलुकहरूको सूची) बाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताएका छन् ।
अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा मङ्गलबार भएको एसिया प्रशान्त मुद्रा शुद्धीकरण निगरानी समूहको अन्तर्राष्ट्रिय सहकार्य समीक्षा समूहको कार्ययोजना सम्बन्धी छलफलमा उनले यस्तो धारणा राखेका हुन् ।
एसिया प्रशान्त मुद्रा शुद्धीकरण निगरानी समूहका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा. वाग्लेले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्रीको नेतृत्वमा नेपाल सरकार मुलुकमा सुशासन स्थापना गरेर विकासमा फड्को मार्न लागिपरेको उल्लेख गर्दै उनले जनताको जनमतको एक प्रमुख सन्देश पनि यही भएको बताए ।
“अहिलेको ग्रे लिस्टको अवस्था पछिल्लो ३० वर्षको कुशासनको प्रतिफल हो,” उनले भने । नयाँ सरकार गठन भएपछि सुशासनका सवालमा भएका कामहरू सबैले अनुभूत गर्ने किसिमको भएको विचार पनि उनले व्यक्त गरे ।
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न तत्काल र नियमित गरिनुपर्ने पहलबारे सरकारी निकायहरूले नियमित काम गरिरहेको र यसको मूल्याङ्कन पनि भइरहेको उनले उल्लेख गरे । ग्रे लिस्ट सूचक सम्बन्धमा नेपालको अवस्थामा पछिल्लो समीक्षा अवधि र अहिले धेरै फरक रहेको पनि उनले बताए ।
कार्यक्रममा बोल्दै एसिया प्रशान्त मुद्रा शुद्धीकरण निगरानी समूहका उपकार्यकारी सचिव डेभिड स्यान्ननले नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त कार्य गर्न अझै बाँकी रहेको बताए ।
मङ्गलबारको छलफलमा अर्थ मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंक लगायतका निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।
वित्तीय कार्यसम्पादन कार्यदलले २०८१ फागुन ९ मा नेपाललाई दुई वर्षका लागि ग्रे लिस्टमा राखेको थियो । नेपालले उक्त सूचीबाट बाहिर निस्कन १५ बुँदे अन्तर्राष्ट्रिय सहकार्य समीक्षा समूहको कार्ययोजनामा प्रतिबद्धता व्यक्त गरी सोअनुसार कार्य गरिरहेको छ ।