२६ जेठ २०८३, मंगलबार

कोशी प्रदेशको नीति तथा कार्यक्रम- सुरुङमार्गदेखि रेलमार्गसम्मका महत्त्वाकांक्षी योजना

जेठ ७, २०८३
विराटनगर
कोशी प्रदेशको नीति तथा कार्यक्रम- सुरुङमार्गदेखि रेलमार्गसम्मका महत्त्वाकांक्षी योजना

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बिहीबार बसेको कोशी प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रस्तुत गरेको कार्यक्रममा पर्यटन, पूर्वाधार, सुशासन र कृषिलाई उच्च प्राथमिकतामा राखिएको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन प्रदेश सरकारले संघीय सरकारसँगको समन्वयमा तमोर–लेउती सुरुङमार्ग, केचना–सगरमाथा द्रुतमार्ग र चतरा–चौरीखर्क (लुक्ला) रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ ।

पर्यटन प्रवर्द्धनका लागि सरकारले  २०८३ साउनदेखि २०८५ असारसम्मको अवधिलाई ‘कोशी प्रदेश भ्रमण वर्ष’ घोषणा गरेको छ । 

यसैगरी, कृषि क्षेत्रको विकास र पहिचानका लागि अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गर्ने लक्ष्य लिइएको छ । स्वास्थ्य सेवालाई आधुनिक बनाउन क्षयरोग पहिचानका लागि कृत्रिम बौद्धिकता (एआई)मा आधारित एक्स–रे सेवा शुरू गर्ने नीति लिइएको छ भने प्रादेशिक अस्पताललाई न्यूनतम ५० शैय्यामा स्तरोन्नति गरिने कार्यक्रममा उल्लेख छ ।

खेलकुदको विकासका लागि विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन विशेष पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

शिक्षातर्फ विद्यार्थीहरूलाई सीपसँग जोड्न ‘पढ्दै कमाउँदै कार्यक्रम’ र सीमान्तकृत छोरीहरूको सशक्तीकरणका लागि ‘सक्षम छोरी कार्यक्रम’लाई निरन्तरता दिइएको छ ।  

अबदेखि बहुवर्षीय स्रोत सुनिश्चितताका आधारमा मात्र रूपान्तरणकारी आयोजना अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्