
साहित्यकार डा. महेन्द्रकुमार मल्लको पहिलो उपन्यास ‘नक्खी’ लोकार्पण भएको छ । कर्णालीको मौलिक कथामा आधारित उपन्यास शनिबार काठमाडौंमा आयोजित एक समारोहमा लोकार्पण गरिएको हो ।
प्रवृत्तिको हिसाबले यथार्थवादी प्रयोग भएको र शिल्पको दृष्टिले उत्तरआधुनिकतालाई वरण गरेको नक्खीले नेपाली समाजको चरम विषमतालाई चित्रण गरेको छ । उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो ।
उपन्यासको लोकार्पण गर्दै वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’ले नक्खी जातीय उत्पीडनको कथा मात्र नभएर समाजव्यवस्थाको त्रासद आख्यान भएको बताए ।
‘घटनाहरूको विन्यासमा कलात्मकता त छँदैछ, त्यसमा कथानकको बनोट र बुनोटमा कल्पनाको मिश्रणले कलात्मक उचाइ प्राप्त गरेको छ,’ उनले भने, ‘आख्यान शिल्पको नितान्त नौलो प्रयोगले उपन्यासलाई विशिष्ट बनाएको छ ।’

उपन्यासमाथि समीक्षा गर्दै प्रा.डा. कुलप्रसाद कोइरालाले कर्णालीको कथा, परिवेश, भाषा, भेषभूषा, रीतिरिवाज तथा समग्र जीवनशैलीको विशिष्ट चित्रण गरेकाले उपन्यास आञ्चलिक बन्न पुगेको बताए ।
त्यसैगरी, अभिनेत्री सुरक्षा पन्तले उपन्यास प्रेमिल कथाको आवरणमा सामाजिक जीवनधारालाई यथार्थवादी र उत्तरआधुनिक प्रवृत्तिमा अन्तर्घुलन गरेर देखाउन सफल भएको बताइन् ।
कविता, निबन्ध, नाटक र आख्यानमा कलम चलाउने डा. मल्लको यसअघि ‘भाषाको बकपत्र’ कविता संग्रह (२०७९) प्रकाशित भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रारसमेत रहेका उनले ‘भाषाविज्ञान र पूर्वीय एवम् पाश्चात्य साहित्य सिद्धान्त’, ‘भाषाविज्ञानका प्रमुख सिद्धान्त’, ‘कोशविज्ञान’, ‘प्रायोगिक भाषाविज्ञान’ लगायत पाठ्यपुस्तक र सन्दर्भ पुस्तकहरूको लेखन गरिसकेका छन् ।
नक्खी लोकार्पण समारोहमा डा. मल्लको ‘एक कृष्णकी राधा’ गजलसमेत सार्वजनिक गरिएको थियो ।