
प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने भएको छ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार, दिउँसो १ बजे बस्ने बैठकमा बजेटमाथि छलफल हुने तय भएको हो।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित "आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। अर्थमन्त्रीको प्रस्तावपछि उक्त वार्षिक अनुमानमाथि सदनमा सामान्य छलफल प्रारम्भ हुने सचिवालयले जनाएको छ।
सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी कार्यसूचीमा सो दिनको मुख्य एजेण्डा बजेटमाथिको छलफललाई नै राखिएको छ। सरकारले जेठ १५ गते संसद्मा पेश गरेको बजेटमाथि सांसदहरूले उठाएका प्रश्न र बजेटका सिद्धान्त तथा प्राथमिकताका विषयमा केन्द्रित रहेर सदनमा बहस हुनेछ।
प्रतिनिधिसभाको यस सत्रमा बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि दफावार छलफल र पारित गर्ने प्रक्रिया अगाडि बढ्ने परम्परा छ।