२७ जेठ २०८३, बुधबार
कार्यसूचीमा प्रवेश गर्न पाएन संसद्

प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग्दै विपक्षीको अवरोध, संसद् बैठक १५ मिनेटका लागि स्थगित

जेठ १८, २०८३
काठमाडौं
प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग्दै विपक्षीको अवरोध, संसद् बैठक १५ मिनेटका लागि स्थगित

प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको विषयलाई लिएर विपक्षी दलहरूले सोमबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् ।

बैठक शुरू हुनेबित्तिकै नेपाली कांग्रेसलगायत विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । विपक्षी सांसदहरूले प्रधानमन्त्रीले आइतबार संसद्‌मा दिएको अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।

विरोधका क्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितसँग जोडिएको विषय भएकाले त्यसबारे संसद्‌मै स्पष्टीकरण दिनुपर्ने बताएका थिए । 

उनले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको विषय गम्भीर रहेको भन्दै कांग्रेसको औपचारिक असहमति रहेको जनाएका थिए ।

विपक्षी दलहरूको निरन्तर अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक आजै १५ मिनेटका लागि स्थगित गरेका छन् ।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन् । 

एमालेले पनि विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको भनाइप्रति गम्भीर आपत्ति जनाएको छ ।

सोमबारको संसद् बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । प्रधानमन्त्रीले संसद्‌मा दिएको अभिव्यक्तिबारे प्रमाण दिनुपर्ने उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्