
उदयपुरको त्रियुगा नगरपालिका–१२ बुद्धचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
गएराति जनप्रेमी स्कुलबाट बुद्धचोकतर्फ जाँदै गरेको स ९ प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय बलदेव चौधरीको इट्टाको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१२ निवासी २४ वर्षीय हेमन्त सदालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। उपचारकै क्रममा राति १२:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मोटरसाइकलको पछाडि सवार त्रियुगा नगरपालिका–१२ सोनापुर निवासी १८ वर्षीय राकेश सदा गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ। जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा रेफर गरिएको र हाल त्यहाँ उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ नगर प्रहरी कार्यालय त्रियुगाबाट खटिएको प्रहरी टोलीले उद्धार कार्य गरेको थियो। दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।