
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्ति आपत्तिजनक र देशद्रोही भएको बताएका छन् । भवितव्यले आएको प्रधानमन्त्रीलाई देशको बारे जथाभावी गर्न नदिइने उनले बताए ।
बुधबार एमालेले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले सीमा विवादमा तेस्रो पक्षलाई सामेल गर्ने कुरा कूटनीतिक मर्यादाविपरीत भएको बताएका हुन् । 'सीमा विवादबारे अरु-अरु देशलाई घिसारेर ल्याएको छ, इङ्ल्यान्ड कि कसलाई । द्विपक्षीय वार्तामा अर्को देशलाई सामेल गर्ने कुरा अराजनीतिक र अकूटनीतिक हो । यस्तो कुरा पनि बोलिन्छ ?,' ओलीले भने, 'नेपाल तपाईंको घरको सम्पत्ति होइन । गाई कि त्रिशूल जस्तो भवितव्यले प्रधानमन्त्रीमा आइपुग्यो भन्दैमा देशको बारेमा जथाभावी गर्न दिइने छैन ।'
ओलीले प्रधानमन्त्री बालेनले देशद्रोही कुरा गरेको दाबी गरे । 'बालेनले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारतको एक इन्च पनि जमिन मिचेको छैन, सम्पूर्ण रूपमा असत्य, राष्ट्रघाती वचन बोल्ने काम भयो । नेपालको विपक्षमा यत्रो कुरा दोहोर्याउँदा कसको पक्षमा बोलियो ? अचानक के सन्देश दिन खोजेको कसलाई सुनाउन खोजेको ?,' उनले भने ।