
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनलाई नेपाल भ्रमणका लागि निम्तो दिएको बताएका छन्।
भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भ्रमणका क्रममा दुवै नेतालाई नेपाल आउन आग्रह गरेको जानकारी दिए। 'मैले यही भ्रमणमा भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेको छु,' उनले भने।
निमन्त्रणाप्रति दुवै नेताको प्रतिक्रिया सकारात्मक रहेको पनि लामिछानेले बताए। 'दुवै जना सकारात्मक हुनुहुन्छ। हेरौं, समयले कहिले जुराउँछ। दुवैतिरको समय जुरेपछि हुन्छ,' उनले भने।
उनले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने पनि बताए ।