२६ जेठ २०८३, मंगलबार
अमेरिका-इरान युद्ध

इरानी सम्पत्ति खाडीको पुनर्निर्माणमा प्रयोग गर्ने अमेरिकी तयारी, युद्धविराम थप जटिल बन्ने संकेत

जेठ २४, २०८३
काठमाडौं
इरानी सम्पत्ति खाडीको पुनर्निर्माणमा प्रयोग गर्ने अमेरिकी तयारी, युद्धविराम थप जटिल बन्ने संकेत

अमेरिकाले इरानका सम्पत्तिहरू खाडी क्षेत्रका सहयोगी मुलुकहरूको पुनर्निर्माण तथा युद्धबाट भएको क्षतिको मर्मतमा प्रयोग गर्ने तयारी थालेको छ । 

इरानले कुवेत र बहराइनमा आक्रमण गरेको भोलिपल्ट सार्वजनिक भएको यो जानकारीले अमेरिका–इरानबीचको नाजुक युद्धविराम थप जटिल बन्न सक्ने संकेत दिएको छ ।

घटनाबारे जानकार एक स्रोतका अनुसार अमेरिकी सरकारले इरानी सम्पत्तिलाई खाडी मुलुकहरूको पूर्वाधार पुनर्निर्माण तथा भविष्यमा इरानबाट हुन सक्ने क्षतिको मर्मतमा प्रयोग गर्ने सम्भावना अध्ययन गरिरहेको रोयटर्सले जनाएको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानी आक्रमणबाट खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूमा भएको क्षतिको मूल्यांकन गर्न विशेष टोलीसमेत परिचालन गरेका छन् ।

यो घटनाक्रम इरानका सर्वोच्च नेताका सल्लाहकार मोहसेन रेजाइले अमेरिकाले रोक्का गरेको २४ अर्ब डलर बराबरको इरानी सम्पत्ति फुकुवा भए मात्रै शान्ति सम्झौता सम्भव हुने बताएका भोलिपल्ट सार्वजनिक भएको हो ।

यसैबीच, अमेरिका र इरानबीच जारी शान्ति वार्ता फेरि अन्योलमा परेको देखिएको छ । मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानका गृहमन्त्री मोहसिन नक्भी शनिबार इरान पुगेर सर्वोच्च नेता मोज्तबा खामेनीका लागि विशेष पत्र बुझाएका छन् । इरानी सञ्चारमाध्यमका अनुसार उनले विदेशमन्त्री अब्बास अराघ्चीसँग समेत भेटवार्ता गरेका छन् ।

शनिबार पनि दुवै पक्षबीच तनाव जारी रह्यो । अमेरिकी सेनाले होर्मुज जलडमरूस्थित गोरुक र केश्म द्वीपका इरानी राडार केन्द्रहरूमा आक्रमण गरेको जनाएको छ । अमेरिकी सेनाका अनुसार समुद्री यातायातलाई जोखिम पुर्‍याउने सम्भावित ड्रोन खसालेपछि आत्मरक्षाका लागि ती कारबाही गरिएको हो ।

जवाफमा इरानको रिभोलुसनरी गार्डले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको दाबी गरेको छ । कुवेतले सातवटा ब्यालिस्टिक मिसाइल अवरोध गरिएको जनाएको छ भने केही भौतिक क्षति भए पनि मानवीय क्षति नभएको बताएको छ । बहराइनमा पनि साइरन बजाएर सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।

इरानले दुवै देशस्थित अमेरिकी अड्डामा मिसाइल प्रहार गरेको दाबी गरे पनि अमेरिकी सेनाले छवटा मिसाइल खसालिएको र अर्को एक लक्ष्यसम्म पुग्न नसकेको जनाएको छ ।

तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता भइरहे पनि ठोस सहमति हुन सकेको छैन । इरानले तेल बिक्रीबाट प्राप्त अर्बौं डलरको आम्दानीमा पहुँच, तेल निर्यातमाथिका प्रतिबन्ध हटाउन, आफ्ना बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी अन्त्य गर्न तथा होर्मुज जलडमरूमध्यमाथि प्रभाव कायम राख्न खोजिरहेको छ ।

युद्धअघि विश्वको करिब पाँचौं हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने गरेको थियो । हाल इरानले उक्त जलमार्गमा प्रभावकारी अवरोध खडा गरेपछि विश्व ऊर्जा बजार प्रभावित भएको छ ।

यसैबीच, लेबनानमा पनि तनाव बढेको छ । दक्षिणी लेबनानमा सैन्य सवारीसाधनमाथि भएको इजरायली आक्रमणमा दुई अधिकारीसहित तीन लेबनानी सैनिक मारिएको लेबनानी सेनाले जनाएको छ । इजरायलले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

इरानले अमेरिका–इरान शान्ति सम्झौताका लागि लेबनानमा इजरायल र हिजबुल्लाहबीच युद्धविराम हुनुपर्ने सर्त राखेको छ । तर हिजबुल्लाह नेता नइम कासिमले अमेरिकाको मध्यस्थतामा भएको इजरायल–लेबनान युद्धविराम प्रस्ताव अस्वीकार गरिसकेका समाचार संस्था रोयटर्सले जनाएको छ । 

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि बढ्दो इन्धन मूल्यका कारण युद्ध अन्त्य गर्न आन्तरिक दबाब बढिरहेको छ । ट्रम्पले हालै इरानका अधिकांश ड्रोन र मिसाइल उत्पादन केन्द्रहरू ध्वस्त पारिए पनि इरानसँग अझै करिब २० प्रतिशत मिसाइल क्षमता बाँकी रहेको बताएका छन् ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य अभियान थालेपछि मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ । युद्धका कारण तेलको मूल्य बढ्नुका साथै मानवीय सहायता लगायतका आपूर्ति शृंखला पनि प्रभावित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्