२७ जेठ २०८३, बुधबार
गोरखाबाट गुरुङको आग्रह

फेरि गृहमन्त्री भएँ भने फोटो खिच्न नआउनु, दुई महिना काम गर्न दिनु : सुधन गुरुङ

जेठ २४, २०८३
काठमाडौं
फेरि गृहमन्त्री भएँ भने फोटो खिच्न नआउनु, दुई महिना काम गर्न दिनु : सुधन गुरुङ
फाइल फोटो

पूर्वगृहमन्त्री सुधन गुरुङले आफू पुनः गृहमन्त्री भएको खण्डमा फोटो खिच्न र बधाई दिनका लागि माला खादा लिएर नआउनु आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको पहिलो जिल्ला अधिवेशनमा सम्बोधन गर्दै गुरुङले आफू पुनः गृहमन्त्रीमा फर्किन सक्ने संकेत गरेका हुन् ।

अस्वाभाविक सम्पत्ति देखिएपछि गुरुङको सम्पत्ति छानबिन गर्न सरकारले समिति गठन गरेको थियो । समितिले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई प्रतिवेदन बुझाइसकेको छ ।

छानबिन समितिको कामकारबाहीबारे चर्चा गर्दै गुरुङले भने, 'म एउटा साधारण नागरिक हो । म कुनै राजनीतिक दलमा आबद्ध थिइनँ । सार्वजनिक पद धारण गरेको थिइनँ । आफूले गर्न सक्ने दुःख गरेर कति कुरा कमाएँ होला । कति ऋण सापटी लिएँ होला । यसका लागि यति कडा-कडा प्रश्न गर्नुभयो कि एकछिन त्यो पुरानो सुधन गुरुङ निस्किसकेको थियो । रिसाउने सुधन गुरुङ ।'

गुरुङले आफूलाई समितिका सदस्यहरूले कडा प्रश्न गरेको बताए । 'यति सारो प्रश्न गर्नुभयो कि मैले हजुरहरूको पनि सम्पत्ति छानबिन गर्नुपर्‍यो भन्न भ्याएँ,' गुरुङले भने ।

उनले आफूले सफाइ पाएको खण्डमा र सरकारले चाहेमा पुनः त्यो पुरानै जिम्मेवारीमा पठाउन सक्नेतर्फ संकेत गरेका थिए । 'मैले सफाइ पाइहालेँ र त्यो पदमा गइहालेँ भने मलाई अलिकति समय दिनु । म सबैलाई आग्रह गर्छु । दुई महिनाको समय दिनु । बधाई दिन मन्त्रालय धाउने काम नगर्ने । फोटो खिच्ने काम नगरौँ,' उनले भने ।

गुरुङले आफूले आफ्नो धरातल नबिर्सिएको भन्दै पूर्वगृहमन्त्री भएर कुनै रवाफ नदेखाएको बताए ।

गुरुङले भाषणका क्रममा सरकार टिकाउने टिप्स पनि दिन भ्याए । उनले भने, 'तपाईंले आफैंले आफैंलाई एकदमै खतरा हो भन्ने ठान्नुभयो भने सरकार ढल्छ । सरकार टिकाउनका लागि अर्काको कुरा सुन्नुपर्छ । एक अर्काको भावना बुझ्नुपर्छ ।'

उनले विकासको योजना बनाउँदा पार्टीभन्दा देशलाई मान्नुपर्ने बताए । 'पार्टीभन्दा माथि देश हेर्नुपर्छ । यो कुरा सबैले बुझौँ,' उनले भने, 'अब स्थानीय चुनाव पनि जित्छौँ, प्रदेशको चुनाव पनि जित्छौँ ।' 

salt training

कमेन्ट गर्नुहोस्