
कम्बोडियामा भिसा अवधि समाप्त भएर पनि अवैधानिक रूपमा बसिरहेका ६०२ जना नेपाली नागरिकहरूलाई आगामी १२ जुन २०२६ भित्र अनिवार्य रूपमा नेपाल फर्कन निर्देशन जारी गरिएको छ।
कम्बोडिया सरकारले नयाँ कानुनी व्यवस्था लागू गर्दै तोकिएको समयमा देश नछाड्ने विदेशी नागरिकहरूलाई ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कारावासको सजाय हुनसक्ने चेतावनी दिएपछि नेपाली दूतावास बैंककले आइतबार यो सूचना जारी गरेको हो।
विभिन्न उद्देश्यले कम्बोडिया पुगेका तर भिसा नवीकरण नगरी बसिरहेका नेपालीहरूलाई स्वदेश फिर्ता गराउन कम्बोडिया सरकारले विशेष सहजता प्रदान गरेको थियो। यसअन्तर्गत उनीहरूलाई लाग्ने भिसा शुल्क र जरिवाना रकम समेत मिनाहा गरिएको थियो। तर, ईमेल, फोन तथा ह्वाट्सएप मार्फत पटक-पटक सम्पर्क गर्दा पनि ६६ नेपालीहरूले स्वदेश फर्कन तदारूकता नदेखाएको दूतावासले जनाएको छ।
सम्बन्धित सबै नेपाली नागरिकहरूलाई कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी १२ जुन २०२६ भित्र अनिवार्य रूपमा नेपाल फर्कन भनिएको छ। साथै, कम्बोडियामा रहेका व्यक्तिका परिवार र आफन्तहरूलाई पनि यसै सूचनालाई आधार मानी आफ्ना प्रियजनहरूलाई यथाशीघ्र घर फर्काउन पहल गर्न अनुरोध समेत दूतावासले गरेको छ ।