
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारका प्रारम्भिक संकेत राम्रो नभएको बताएका छन् ।
रास्वपा सभापति रवि लामिछानेले सोमबार बोलाएको सर्वदलीय बैठकमा लिङ्देनले सरकारले गरेका कामबारे प्रश्न उठाएका हुन् ।
‘हामी विकल्पहीन छौं भनेर शक्तिपृथकीकरणको सिद्धान्त विपरीतका काम भइरहेका छन्, सरकारका प्रारम्भिक लक्षण ठीक देखिएको छैन,’ सिंहदरबारमा बसेको बैठकपछि उनले भने, ‘देश जित्नेको मात्र होइन हार्नेको पनि हो । सरकारले गर्ने गलत कामको सिकार देशका सबै बन्न पर्छ ।’
लिङ्देनका अनुसार बैठकमा सहभागी अन्य दलका नेताले पनि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमा सम्बन्धमा दिएको अभिव्यक्ति र रास्वपा सभापति लामिछानेले भारतमा गएर विगतको भारी नबोल्ने भनेर दिएको अभिव्यक्तिबारे समेत चासो राखेका थिए ।
‘रास्वपा सभापतिले भारतमा गएर विगतको भारी बोक्दैनौं भन्ने कुरा गर्नुभएको छ । त्यस्ता कुरा होसियारीपूर्वक गरियोस् । विगतमा सबै नराम्रा भएका थिए भन्ने जस्तो अर्थ लाग्ने गरी कुरा नगर्नुहोला,’ लिङ्देनले भने ।
लामिछानेले बोलाएको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपाका माधव नेपाल लगायत सहभागी थिए ।