
महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका बालकको शव पोखरीमा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार शुक्रबार साँझ ५ः०० बजेतिर आफ्नै घर छेउमा खेल्दै गर्दा बेपत्ता भएका उनको शव पोखरीमा तैरिरहेको अवस्थामा भेटिएको हो ।
रोहित यादवका तीन वर्षीय छोरा मनिकेशको शव आज सोही ठाउँमा रहेको पोखरीमा फेला परेको हो ।
पोखरीमा तैरिरहेको बोराभित्र बच्चा रहेको भन्ने स्थानीयको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
शव बोराभित्र भेटिएकाले हत्याको आशंकासहित घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रवक्ता गोलेले बताए ।
जलेश्वर नगरपालिका–१२ निवासी आशुतोष यादवका १२ वर्षीय छोरा गौतम यादव जेठ ७ र वडा नम्बर ६ का बुधवा मण्डलका १५ वर्षीय छोरा अभय मण्डल जेठ १४ गतेदेखि बेपत्ता छन् ।
उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।