२६ जेठ २०८३, मंगलबार

सर्वदलीय बैठक निष्कर्षविहीन

जेठ २५, २०८३
काठमाडौं
सर्वदलीय बैठक निष्कर्षविहीन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठक बिनाकुनै सहमति टुंगिएको छ। संसद्‌मा जारी गतिरोध अन्त्य गर्ने उद्देश्यका साथ बोलाइएको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा संघीय संसद्मा विपक्षी दलहरूले आफ्नो अवरोधलाई कायमै राख्ने भएका हुन् । 

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको बैठकमा मुख्यतः दुईवटा विषयमा छलफल भएको थियो। जसमा रास्वपा सभापति रवि लामिछानेको हालै भएको भारत भ्रमण र संसद्को गतिरोध अन्त्य गर्ने विषय समावेश थिए।

एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार बैठकमा रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमण र सीमा विवादलगायत विषयमा आफू र परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा बोल्ने प्रस्ताव राखेका थिए । तर, विपक्षी दलहरूले उक्त प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गरिदिएको महरले बताए । 

उनका अनुसार विपक्षी दलहरूले नेपाल–भारत सीमा र प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा स्वयम् प्रधानमन्त्री बालेन शाह नै संसद् बैठकमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राखेका छन् । 

महरले प्रधानमन्त्री सदनमा आएर जवाफ नदिएसम्म आफूहरूको विरोध र सदनको अवरोध जारी रहने स्पष्ट पारे । ‘सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, परराष्ट्रमन्त्रीले जवाफ दिइसकेपछि आवश्यकता पर्यो भने मैले पनि जवाफ दिइहाल्छु । तर, अहिले प्रधानमन्त्री आउन सक्नुहुन्न भनेर उहाँले भनिसकेपछि हामीले त्यसो हुँदैन, प्रधानमन्त्री आएर नै जवाफ दिनुपर्छ भनेपछि बैठक सकियो,’ उनले भने, ‘प्रधानमन्त्रीले संसद्मा आएर यसको जवाफ दिनुपर्छ र स्पष्ट बनाउनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्