
गर्मी अत्यधिक बढेपछि बाँकेका दुई स्थानीय तहले विद्यालयमा गर्मी बिदा दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका र खजुरा गाउँपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयमा गर्मी बिदा दिएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा यही जेठ २६ देखि २९ गतेसम्म विद्यालय बन्द गरेको शिक्षा महाशाखाका उपसचिव गोर्खबहादुर थापाले जानकारी दिए । उनका अनुसार नेपालगन्जका ४२ सामुदायिक, संस्थागत ८२ र धार्मिक ३९ विद्यालयमा गर्मी बिदा दिने निर्णय गरिएको हो ।
खजुरा गाउँपालिकामा पनि यही जेठ २७ देखि ३१ गतेसम्म गर्मी बिदा दिइएको खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।
केही दिनयता बाँकेसहित तराईका जिल्लामा उच्च तापक्रम र तातो हावाले जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका अनुसार आजको अधिकतम तापक्रम नेपालगन्जमा ४१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
कार्यालयका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीले खजुरामा ४० दशमलव सात र कोहलपुरमा ४१ दशमलव दुई अधिकतम तापक्रम ‘रेकर्ड’ भएको जानकारी दिए ।