२७ जेठ २०८३, बुधबार

सामाजिक सुरक्षा भत्ता के एमालेको बपौती हो ?

माघ १२, २०७४
सामाजिक सुरक्षा भत्ता के एमालेको बपौती हो ?

नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यसअघि ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता अबदेखि ६५ वर्ष उमेर पुगेका व्यक्तिहरुलाई दिने निर्णय गर्‍यो । त्यस्तै बुधबारको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडित परिवारलाई थप एकलाख रुपैयाँ अनुदान दिने निर्णयसमेत गरेको छ । 

सरकारले गरेका यी दुई महत्वपूर्ण निर्णयमध्ये पहिलो निर्णयको विषयलाई लिएर एमालेका नेता तथा कार्यकर्ताले चर्को आलोचना गरेका छन् । यही विषयलाई लिएर एमालेले बिहीबार पत्रकार सम्मेलन गरी विरोध गर्‍यो । यहाँसम्म कि, एमालेका नेता/कार्यकर्ताले सरकारको यो निर्णय वाम गठबन्धनलाई अप्ठ्यारो पार्ने चाल भएको भनी टिप्पणी गरेका छन् । बर्हिगमन हुन लागेको सरकारले यस किसिमको निर्णय गर्नु त्यति सान्दर्भिक विषय होइन होला । तर, जनताको हितमा भएको यो निर्णयको टिप्पणी गर्नुको कुनै औचित्य छैन ।

हिजो निर्वाचनमा होमिदैगर्दा वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुले समेत सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्‍याउने घोषणा नगरेका होइनन् । तर, सरकारले अहिले नागरिककै हितमा निर्णय गर्दा किन यति धेरै आपत्ति ? साँच्चै भन्ने हो भने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा शुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई एमालेका नेता तथा कार्यकर्ताले एमाले पार्टीको बपौती ठान्ने गर्छन् । 

सामाजिक सुरक्षा भत्ता वितरणमा अन्य कुनै सरकारले नयाँ निर्णय गर्‍यो भने उसलाई टाउको दुःखाई हुने गर्दछ । यो एमालेको अत्यन्त गलत सोचाई हो । किनकि सामाजिक सुरक्षा भत्ता वितरण एमालेको पार्टी कार्यालयबाट नभई राज्यको ढुकटीबाट वितरण हुँदै आइरहेको छ । तसर्थ ६५ वर्षको उमेर पुगेका व्यक्तिलाई सामाजिक सुरक्षा वितरण गर्ने निर्णयप्रति एमालेले टाउको दुःखाइरहनुको कुनै अर्थ छैन ।

एमालेको यतिखेरको राजनीतिक स्वार्थ भनेको निर्वाचनका समयमा उद्घोष गरेबमोजिम वाम गठबन्धनको सरकार गठन भएसँगै सामाजिक सुरक्षा भत्ता मासिक २ हजारबाट बढाएर ५ हजार बनाउनु रहेको छ । तर, देउवा नेतृत्वको वर्तमान सरकारले ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरे लगत्तै उसको योजनामा सरासर ठेस लाग्ने निश्चित छ ।

अर्थमन्त्रालय निकट स्रोतका अनुसार सरकारको यो पछिल्लो निर्णय सँगै मुलुकलाई थप १८ अर्ब रुपैयाँ आर्थिक पर्दैछ । जबकि यसअगाडि सामाजिक सुरक्षा भत्ताका लागि ३५ अर्ब रुपैयाँ खर्च हुँदै आएको अवस्था थियो । सामाजिक सुरक्षा भत्तामा यति ठूलो रकम खर्च हुँदै गर्दा अब निर्माण हुने सरकारले यस विषयमा नागरिकहरुलाई थप सुविधा दिन कठिनाई हुने निश्चित छ । सायद, त्यही भएर नै एमालेका नेता तथा कार्यकर्ताले सरकारले सामाजिक सुरक्षा भत्ता दिने विषयमा गरेको निर्णयप्रति कडा आपत्ति जनाएको हुनुपर्दछ ।
 
एमालेका नेता तथा कार्यकर्तालाई थाहा छ कि छैन सामाजिक सुरक्षा भत्ता वितरण दिनुपर्छ भन्ने विषय उठान गर्ने व्यक्ति सामाजिक अभियन्ता भीमबहादुर अधिकारी हुन् । जो लामो समय सरकारी सेवामा रही मुलुक र मुलुकवासीको सेवा गरेका थिए । उनले उठाएको माग  संयोगले एमालेको सरकारको पालामा पूरा हुन पुगेको थियो । तर, सामाजिक सुरक्षा भत्ता वितरणको कुरो आयो कि त एमालेका नेता तथा कार्यकर्ता बल्खु (हाल धुम्बाराही) दरबारबाट नै पास भएर दिने निर्णय गरेजस्तो ठान्छन् ।

यदि  सामाजिक सुरक्षा भत्ता साँच्चै एमालेले नै दिएको हो भन्ने दम्भ एमालेका नेता तथा कार्यकर्ताहरुमा छ भने अबदेखि सामाजिक सुरक्षा भत्तावापतका रकम लिन जेष्ठ नागरिकलाई नेपाल सरकारले तोकेको बैंकहरुबाट नभई एमालेका जिल्ला स्थित पार्टी कार्यालयमा बोलाउने साहस उनीहरुले गर्नुपर्दछ । तबमात्र सामाजिक सुरक्षा भत्ता एमालेले वितरण गरेको प्रमाणित हुनेछ ।

वर्तमानलाई नजिकबाट नियालेर हेर्ने हो भने हरेक निर्वाचनमा सामाजिक सुरक्षा भत्ताको नारालाई एमालेले मत माग्ने गतिलो माध्यम बनाइरहेको छ । जसको प्रभावमा परी जेष्ठ नागरिकहरुले एमालेलाई भोट दिइरहेका छन् । के सामाजिक सुरक्षा भत्तालाई आफ्नो बपौती ठानेर निर्वाचन जित्ने एमालेको एउटैमात्र लक्ष्य हो ? यसको जवाफ एमालेका नेता/कार्यकर्ताले दिनुपर्ने देखिन्छ ।
 
अर्को कुरा हाल सरकारले मासिकरुपमा उपलब्ध गराउँदै आएको २ हजार सामाजिक सुरक्षा भत्तामध्ये औषधि खर्चबापत उपलब्ध गराइँदै आएको १ हजार रुपैयाँ नेपाली काँग्रेसको सरकारका पालाबाट सुरु भएको हो । तर, त्यसको जस पनि एमालेले मात्रै लिनुपर्छ भन्ने मानसिकता एमालेका नेता/कार्यकर्तामा छ । यस किसिमको मानसिकता अत्यन्त दरिद्री राजनीतिक मानसिकता हो । त्यसैले यस किसिमको दरिद्री राजनीतिक मानसिकतालाई एमालेका नेता तथा कार्यकर्ताले त्याग्नु जरुरी देखिन्छ ।

यथार्थताको धरातलमा उभिएर भन्ने हो भने कुनै शिशु यो धर्तीमा जन्मिएपछि उसको नैर्सर्गिक अधिकार पूरा गर्ने दायित्व राज्यको हो ।  विश्वका अन्य विकसित मुलुकहरुमा हेर्ने हो भने शिशु जन्मिएदेखि मृत्युवरण नगर्दासम्म उसको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा राज्यले जिम्मेवारी लिने गर्दछ । तर, हामी कहाँ अस्थीर राजनीतिका कारण मुलुकले सही दिशामा अगाडि बढ्न नसक्दा राज्य आफ्ना नागरिकलाई पूरा गर्नुपर्ने दायित्वबाट बिमुख भइरहेको अवस्था छ । जसको मार वर्तमान पिंडीका नेपाली नागरिकहरुले खेपिरहनु परेको छ ।

तसर्थ यी विविध  विषयलाई मध्यनजर गर्दै  राजनीतिक खिचातानीबाट माथि उठेर मुलुकलाई समृद्ध बनाउनतर्फ प्रत्येक नागरिक, नागरिक समाजका सदस्य, राजनीतिक दल र सरकार लाग्नु पर्ने बेला आएको छ । तबमात्र मुलुक समृद्धितर्फ अगाडि बढ्ने छ । अनि मुलुक समृद्ध भएसँगै सामाजिक सुरक्षा भत्ताको विषयमा  कुनै पनि नागरिक र राजनीतिक दलहरुले टाउको दुःखाइरहनु पर्दैन । यी विषय राज्यको नीतिअनुरुप निरन्तर चलिरहन्छन् । एमालेका नेता तथा कार्यकर्तालाई चेतना भया !

नयाँ मापदण्ड बनाउने कि ?

सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा समेत विभेदकारी नीति रहेको छ । नेपाल सरकारबाट अवकाशप्राप्त सरकारी कर्मचारीहरु सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित हुँदै आएका छन् भने विदेशमा रोजगारी गरी पेन्सनसहित अवकाशप्राप्त व्यक्तिहरुलाई भने  सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता लिँदै आइरहेको अवस्था छ ।

स्वदेश हो या विदेश जहाँ सुकैबाट पेन्सन प्राप्त व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनु कति सान्दर्भिक छ यस विषयमा पनि सोच्नुपर्ने देखिन्छ । यसका अलावा उद्योग धन्दा, व्यापार, व्यावसायबाट राम्रो आम्दानी गर्ने व्यक्तिहरुलाई समेत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनु कति सान्दर्भिक हुन्छ, त्यस विषयमा पनि सोच्नु जरुरी देखिन थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्