२६ जेठ २०८३, मंगलबार

‘बाईबाई दिल्ली, हेलो बेइजिङ’ नै होला ओलीको यात्रा ?

फागुन ९, २०७४
‘बाईबाई दिल्ली, हेलो बेइजिङ’ नै होला ओलीको यात्रा ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको ४१ औं प्रधानमन्त्रीको रुपमा शपथ लिएपछि नेपालमा मात्र नभई भारतमा समेत विभिन्न अड्कलबाजी गरिन थालिएको छ । अड्कलबाजी लगाउने क्रममा भारतका विभिन्न सञ्चार माध्यमले नेपालका नवनिर्वाचित प्रधानमन्त्री ओलीले दिल्लीलाई बाईबाई र बेइजिङलाई निकट राख्ने आशय व्यक्त गर्दै ‘बाईबाई दिल्ली, हेलो बेइजिङ !’ शीर्षकमा विभिन्न विश्लेषणात्मक सामाग्री प्रकाशित गरेका छन् । 

प्रधानमन्त्री ओलीले साउथ चाइना मर्निङ पोष्टलाई दिएको अन्तवार्तालाई भारतीय पत्रपत्रिकाले समाचार बनाए । खासयरी शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वदेशी लगानीमा बनाउने भनेको बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई दिन लागेको भनेर । कतिपय भारतीय मिडियाले शुरुदेखि नै ओलीलाई चीनपरस्तको बिल्ला भिराएका छन् ।

द न्यु इण्डियन एक्सप्रेसले यस किसिमको सामाग्री प्रकाशित गरेको छ । समाचारको सार यस्तो थियो, ‘चीन परस्त ओली सन् २०१५ मा मधेसीहरूले गरेको नाकाबन्दीका लागि अनि त्यही वर्ष आफूलाई सत्ताबाट बहिर्गमन गराउनका लागि भारत दोषीरहेको बताउँछन् । यतिखेर ओलीको नेकपा एमाले र पुष्पकमल दाहालको नेकपा माओवादी केन्द्रका बीच असहज गठबन्धन छ । प्रचण्डवामगठबन्धनका सहअध्यक्ष हुन् र उनी तथा ओली पालैपालो साढे दुई साढे दुई वर्षका लागि प्रधानमन्त्री हुने अपेक्षा छ । 

सम्बन्ध सुधार्न तथा नयाँ नेतृत्वप्रति भारतको समर्थनलाई थप सुदृढ गर्नका लागि विदेशमन्त्री सुष्मा स्वराजले फेब्रुअरीको शुरूतिर भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणका क्रममा ओली र कम्युनिस्ट नेतृत्वसँग कुराकानी गरिन् । केही विश्लेषकहरूले ओलीले दुई ठूला छिमेकीबीच सन्तुलित सम्बन्ध राख्ने विश्वास राखेका भएपनि अधिकांशले भित्रभित्रै चाहिँ यसो नहुने स्वीकारेका छन् । 

‘ओली भारतविरोधी तथा चीनसमर्थक नारा दिएर सत्तामा पुगेका हुन् भनी हामीले बुझ्नुपर्छ । अनि उनको नारालाई नेपाली मतदाताहरूले ग्रहणगरेका हुन् । उनीहरू सन् २०१५ मा मधेसीहरूले गरेको नाकाबन्दीका बेलामा पाएको
दुःखका लागि भारतलाई दोष दिन्छन् । ओलीले एक्कासि भारतलाई अँगालेमा उनको राजनीतिक आत्महत्या हुनेछ,’ एक भारतीय कूटनीतिज्ञले बताए । 
 
द न्यू इण्डियन एक्सप्रेसमा प्रकाशित यो सामाग्री हेर्दा नवनिर्वाचित प्रधामन्त्री ओलीले आफ्नो कार्यकालमा दिल्लीलाई बाईबाई र बेइजिङ हेलो गर्न सक्ने सम्भावना निकै बढी देखिन्छ ।  तर  हिमालयमा मुहान भएका नेपालका खोला—नदी दक्षिण बगे जस्तै नेपाली राजनीति  पनि प्रायजसो दक्षिणतिर नै ढल्केको देखिन्छ । यद्यपि बीच—बीचको केही समय भने नेपाली राजनीति आफ्नै अनुकुल चल्न खोजेको पाइन्छ । जुन विषयलाई भारतले स्वीकार गरेको  पाइदैन । 

जसको ज्वलन्त उदाहरणका रुपमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन काललाई लिन सकिन्छ । जानकारहरुका अनुसार भारतको अस्वीकार्यता कारण नै नेपालबाट २ सय ४० बर्ष लामो राजतन्त्र अत्यन्त हुन पुगेको हो । यसका अलावा  प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकारलाई समेत भारतले त्यति नरुचाएका कारण राजा महेन्द्रलाई शासन सत्ता हत्याउन बल पुगेको समेत राजनीतिक वृतमा बेला—बेलामा चर्चा हुन गरेको छ । 

त्यतिमात्र होइन दोस्रो जनआन्दोलन भाग— २ सफल भएसगै सम्पन्न पहिलो संविधान सभा निर्वाचन पछि लोकनायक स्व गिरिजा प्रसाद कोइरालालाई समेत पहिलो राष्ट्रपति हुनबाट भारतले नै रोकेको  जानकारहरुको दावी रहेको छ । यी घटनाक्रमबाट के स्पष्ट हुन्छ भने नेपाली राजनीतिमा भारतको संस्थापन पक्ष सधै हावी हुन चाहन्छ । यदि त्यसो नहुँदो हो त नेपालमा हुने हरेक परिवर्तन र नयाँ सरकार गठन हुँदा भारतीय पक्षले आवश्यक भन्दा बढी चासो दिने थिएन । 

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकारलाई समेत भारतले त्यति नरुचाएका कारण राजा महेन्द्रलाई शासन सत्ता हत्याउन बल पुगेको समेत राजनीतिक वृतमा बेला—बेलामा चर्चा हुन गरेको छ


मंसिर २१ को प्रतिनिधी र प्रदेश सभा निर्वाचनको नतिजा सार्वजनिक भएपछिको अवधिलाई हेर्ने हो भने भारतीय संस्थापन पक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लोकले पचाउने भन्दा बढी सम्बन्ध बढाएको देखिन्छ । यहाँसम्मकी ओली प्रधानमन्त्री नबन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नियुक्त हुनु अगाडि दुई पटक टेलिफोन गरी बधाई दिएका थिए । 

त्यतिमात्र नभई विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाई ओलीसंग भेटघाट गर्न लगाएका थिए । जुन  भेटघाटमा भावी सरकारको रोड म्याप समेत भारतीय पक्षले एमाले अध्यक्ष ओलीलाई दिएको थियो । 

यही बीचमा ओलीले बिहीबार शपथ ग्रहण गरेसगै मध्यरातमा भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई टेलिफोन मार्फत बधाई तथा शुभकामना सहित भारत भ्रमणको निम्तो दिएका छन् । 

त्यस्तै नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी ओली निवास बालकोट पुगि भारतीय प्रधानमन्त्री मोदीको बधाई सन्देश हस्तान्तरण गरेका छन् ।

यसरी ओली प्रधानमन्त्रीमा नियुक्ती हुन अगाडि देखि प्रधानमन्त्रीमा नियुक्त भएपछि  भारतीय संस्थापन पक्षले जुन हिसाबले चासो देखाई रहेको छ यस्तो अवस्थामा  के  ओलीले ‘बाईबाई दिल्ली, हेलो बेइजिङ’को यात्रा तय गर्लान ? आम सर्वसाधारण माँझ कौतुहलताको विषय बनिरहेको छ ।

चीन र भारत नेपालका दुई छिमेकी मुलुक हुन् । भौगोलिक हिसाबमा हेर्ने हो भने चीन उत्तरतर्फ अवस्थित छ । जुन भाग नेपालको हिमालय पर्वत श्रृङखला भन्दा माथिल्लो भागमा पर्दछ । जसले गर्दा चीन र नेपाल छिमेकी मुलुक भएपनि बीचमा पर्खाल लगाएको जस्तो अवस्था छ । 

यसका अलावा चीन र नेपाली दुई छिमेकी मुलुक भएपनि भेषभूषा, रहनसहन, कला सस्कृति ,रीतिरिवाज र अन्य सम्बन्धमा निकै भिन्नता रहेको छ । यद्यपि हिमाली भेगका केही भागमा चिनियाँ भेषभूषा, रहनसहन, कला सस्कृति ,रीतिरिवाज र अन्य सम्बन्ध केही मेल खान पुगेको देखिन्छ । 

तर समग्रमा भन्नुपर्दा चीन र नेपालबीच हरसम्बन्ध आकाश जमिनको फरक रहेको छ । तर दक्षिणतिर रहेको छिमेकी मुलुक भारतसंग भौगोलिक दुरी मात्र होइन भेषभूषा, रहनसहन , कला सस्कृति, रीतिरिवाज र अन्य सम्बन्ध ठयाक्कै मेल खान पुगेको देखिन्छ । 

नेपालको पशुपतिमा भारतीय भट् पुजारी रहेको अवस्था छ भने भारतका प्रसिद्ध मठमन्दिरमा नेपालीहरु पुजारी रहेको अवस्था छ । त्यतिमात्र होइन केही दिन अगाडि मात्र भारतीयहरुले  नेपालका पूर्वराजा ज्ञानेन्द्रलाई विश्व हिन्दू सम्राट मानेको अवस्था समेत छ । 

यसका अलावा भारतीय सुरक्षा फौजमा नेपालीहरु भर्ति हुने देखि सरकारी सेवामा समेत जागिर खाईरहेको अवस्था  छ । त्यस्तै  नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ प्रधानसेनापति र भारतका प्रधानसेनापतिलाई नेपालको मानार्थ प्रधानसेनापतिको उपाधि दिईने प्रचलन सम्म रहेको छ । 

सदियौं देखि एक अर्का बीच निकट सम्बन्ध आईरहेको अवस्थामा केपी ओली दोस्रो पटक प्रधानमन्त्री हुँदै गर्दा के ओलीले दिल्लीलाई बाईबाई गर्दे बेइजिङग तिर हेलो गर्लान ? त्यो थप कौतुहलताको विषय बनिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्